२९ जेठ, मेचीनगर : मेचीनगर-७ स्थित अरनिको माविका प्रधानाध्यापक अग्नी घिमिरेले सोही विद्यालयकी महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको भनेर सञ्चारमाध्यममा आएको समाचारका विषयमा सत्यतथ्य छानविन गरी दोषी देखिए जोकोहीलाई कानूनी कारबाहीको दायरामा ल्याउन नेपाल शिक्षक महासंघ मेचीनगरले माग गरेको छ ।
शिक्षक महासंघ मेचीनगरले आज एक विज्ञप्ति प्रकाशित गरी जेठ २५ गते सेतोपत्र डटकम मा प्रकासित भएको ‘मेचीनगरमा प्रधानाध्यापकद्वारा महिला शिक्षकमाथि यौन दुर्व्यवहार, घट्ना सार्वजनिक हुने डरले प्रधानाध्यापकद्वारा राजिनामा’ शीर्षकको समाचार प्रति गम्भिर ध्यानार्षण भएको जनाएको छ ।
शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल (केशव) ले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक महासंघ मेचीनगरको सचिव समेत रहनु भएका अरनिको माध्यमिक विद्यालय मेचीनगर-७ का प्रधानाध्यापक अग्नीप्रसाद घिमिरेमाथि लागेको आरोपले समग्र शैक्षिक क्षेत्र र योसँग सम्बद्ध शिक्षक तथा कर्मचारी गम्भीर प्रश्नचिन्ह खडा भएको छ । शिक्षक जस्तो अत्यन्तै मर्यादित पेशासँग जोडिएर आउने पटक पटकका यस्ता समाचारहरुले हामी समस्त पेशागत शैक्षिक नेतृत्वहरुलाई तरगिंत एवं शोचनीय बनाएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रधानाध्यापक माथि लगाइएको आरोप सही वा गलत के हो त्यसको निष्पक्ष छानविन गरी दोषी ठहरिए कानून बमोजिम प्रक्रिया अगाडि बढाउन तथा आरोप गलत ठहरिए आरोपी र समाचार सम्प्रेषण गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याई तदनुरुप सजाय दिलाउने सवालमा सम्बन्धीत निकायको छानविनबाट प्राप्त हुने निष्कर्षको शिक्षक महासंघ सदैव स्वागत र सम्मान गर्दछ ।’
हेर्नुहोस् शिक्षक महासंघ मेचीनगरको विज्ञप्ति :


























