मङ्गलबार , ३० मङ्सिर, २०७७
काठमाडौँ । चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका काङ्ग्रेस नेता विजयकुमार गच्छदारले अदालतको म्याद बुझ्न आनाकानी गरिरहेका छन् ।
अदालत र कानुनलाई ठाडो चुनौती दिँदै उनले म्याद नबुझेको स्रोतले बतायो । पूर्व उपप्रधानमन्त्री हुँदा बालुवाटारको सरकारी जग्गा हडप्न रोलमोडलको भूमिकामा उनी देखिएको अनुसन्धानबाट पत्ता लागेको थियो । सरकारी जग्गा हडप्न महत्वपूर्ण भूमिका खेलेका उनलाई अदालतले म्याद पूर्जी जारी गरेको थियो ।
तर उनले अस्वीकार गर्दै पत्र बुझ्न अस्वीकार गरिरहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको १० महिना बितिसम्दा पनि गच्छादारले म्याद बुझ्न आनाकानी गरिरहेको अदालत स्रोतले बतायो ।
बालुवाटारको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउन भूमिका खेलेको आरोपमा गत वर्ष माघ २३ गते आयोगले गच्छादारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिव सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार सोमबारसम्म प्रतिवादीहरुमध्ये ९७ जना म्याद बुझेर अदालतमा हाजिर भइसकेका छन्।
आइतबार अदालत हाजिर भएका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव एवं अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने विशेष अदालतले पुर्पक्ष थुनामा पठाएको छ। अरु प्रतिवादीहरुले धरौटी र साधरण तारिखमा रिहा गरे पनि न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
बस्न्यातपछि गच्छदारमाथि अदालतले कस्तो निर्णय गर्छ भन्ने चासो सबैमा परेको छ । गच्छादारलाई १३ वर्षसम्म कैद सजाय र ९ करोड ६५ लाख बिगो दाबी गरी आयोगले मुद्दा लगाएको छ। विशेष अदालतले सुनसरी दुहबी नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा गच्छादारलाई सुनसरी जिल्ला अदालतमार्फत म्याद तामेल गर्न पठाए पनि एक पटक फर्किएको र दोस्रोपटक तामेलीका लागि तोकेता गरेको प्रवक्ता पाण्डले जानकारी दिए।
उनलाई गत फागुन १९ गते विशेषबाट म्याद तोमेलीका लागि सुनसरी पठाइएको थियो। तर म्याद तामेल हुन नसकेको जानकारी आएपछि विशेषले गत कात्तिक १८ गते म्याद तामेलीका लागि ताकेता गरेको गरेको छ। दुहबी स्थायी ठेगाना भए पनि गच्छादार हाल ललितपुरको सानेपामा बस्दै आएका छन्। तामेलदारले उनको घर पनि पत्ता लगाउन नसकेको पाइएको छ ।
सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले गच्छादारको घरमा म्याद तामेल हुन नसकेको विषयमा जानकारी नभएको बताउँदै भने , ‘यो विषयमा म बुझ्छु। यो विषयमा तामिलदारसँग कुरा बुझेर मात्र प्रस्ट भन्न सक्छु।’
विशेष अदालतबाट जारी हुने म्याद १५ दिनको हुने र गुज्रेको खण्डमा थप १५ दिन थाम्न पाइने नियम छ । प्रतिवादीले म्याद बुझेपछि मात्रै दिनगन्ती सुरु हुन्छ। प्रतिवाद स्वयम् वा उनका घर परिवारका सदस्यले अदालतको पत्र नबुझेसम्म दिनगन्ती सुरु हुँदैन।