२ असार, मेचीनगर : लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनु हुँदैन भन्ने संविधानमा उल्लेख गरिएको भए पनि झापाको मेचीनगर र आसपासका क्षेत्रमा यस्ता घटना भइरहेका छन् । त्यसको व्याख्यात्मक कुराहरू ग्रामीण क्षेत्रका महिलासम्म पुग्न नसक्नुले नगरमा महिला हिंसाका घटनामा कमी आउन नसकेको महिला अधिकारकर्मीहरू बताउँछन् ।
कानुनी अज्ञानताका कारण नगरमा महिला हिंसाका घटना भइरहेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को १० महिनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा महिला तथा बालबालिका हिंसाका सातवटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यो अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा विभिन्न प्रकृतिका १ सय ५० वटा मुद्धा दर्ता भएका छन् । ती मध्ये महिलामाथि हुने हिंसा जबरजस्ती करणीका चार, जबरजस्ती करणी उद्योग, बोक्सीको आरोप र बाल यौन दुरुपयोगका एक/एक गरी कुल सातवटा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
महिला हिंसाका घटना बढीरहे पनि यस क्षेत्रमा काम गर्ने संस्थाहरु महिलाका मुद्दामा काम कम गर्दा उजुरी खासै धेरै नपरेको जिकिर महिला अधिकारकर्मीहरु गर्छन् । ग्रामीण क्षेत्रमा अधिकांश समयमा विभिन्न संस्थाका सहयोगमा महिला हिंसाको घटना दर्ता हुने गरेको छ । कार्यालयको चालु आर्थिक वर्षको मासिक मुद्घा दर्ता संख्या हेर्दा हरेक महिना थपघट देखिन्छ । आर्थिक वर्ष सुरुको साउन महिनामा विभिन्न प्रकृतिका कुल १५ वटा मुद्धा दर्ता भएका थिए भने भदौमा घटेर नौ वटामा झरेको छ ।
यो अवधिमा सबैभन्दा बढी लागूऔषधका ४४ वटा मुद्घा दर्ता भएका छन् । काँकरभिट्टा देखि झण्डै २ किलोमिटर पूर्वको भारतीय पानीट्यांकी बजारमा त्यस्ता पदार्थ सजहै उपलब्ध हुने भएकाले अधिकांश कारोबारी र सेवनकर्ता भारतीय बजार धाउने गरेको कारण पनि लागूऔषधका मुद्धा बढ्ने गरेको प्रहरीको भनाई छ । उत्तरमा झापा जिल्लाको सीमाना इलामको जिर्मलेदेखि दक्षिणमा मोरङ जिल्लासम्मको एकसय १८ किलोमिटर खुला बोर्डरको फाइदा उठाउदै कारोबार गरेपछि खुला सीमानै लागूऔषध नियन्त्रणको प्रमुख समस्या र प्रहरीको टाउको दुःखाईको विषय बनेको एकजना प्रहरी अधिकृतको भनाई छ ।
कार्यालयमा सबैभन्दा बढी माघ महिनामा २२ वटा मुद्घा दर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पाठकको भनाई छ । त्यो महिना सबै भन्दा बढी चोरीका मात्र सातवटा मुद्घा दर्ता भएका छन् । ११ महिनामा चोरीका ११ वटा घटना भएका थिए । असोज महिनामा १०, कात्तिक महिनामा ११, मंसिर महिनामा २०, पुस महिनामा १७, फागुन महिनामा २०, चैत महिनामा १५ र वैशाख महिनामा ११ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्घा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको अवधिमा विभिन्न २६ वटा मुद्घा शीर्षकमा दर्ता भएका कुल मुद्धामध्ये सबैभन्दा बढी अभद्र व्यवहारका ३३ वटा छन् । सवारी अंगभंग, अप्राकृतिक मैथुन र बैकिङ्ग कसुर शीर्षकमा मुद्धा दर्ता भएका छैनन् ।
नेपालको संविधान महिलामैत्री भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुनु र महिलाले कानुनी पाटो पहिल्याउन नसक्दा नगरमा महिला सामाजिक हिंसा सहेर बस्ने गरेको बताइएको छ । अहिले प्रत्येक पालिकामा न्यायिक समिति रहे पनि महिलाहरू घरभित्रको झगडा तथा हिंसालाई न्यायिक समितिसम्म पु¥याउन नसक्नुले पनि महिला हिंसाका घटनाले प्रश्रय पाइरहेको महिला अधिकारकर्मीहरुको भनाई छ ।

























