बुधबार , १ पौष ,२०७७
इटहरी । हात्तीको आक्रमणमा मारिएका प्रमोद यादवको परिवारलाई १० लाख ५० हजार रुपैया दिने सहमति भएको छ ।
मङ्गलवार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्थानीयवासी तथा पीडित परिवारसँग भएको छलफलमा सोमबार मृत्यु भएका कोशी गाउँपालिका ६ श्रीपुरका २८ वर्षीय प्रमोद यादवको परिवारलाई क्षतिपूर्ति दिने सहमती भएको हो ।
पीडित परिवारलाई क्षतिपूर्तिबापतको रकम चाँडो उपलब्ध गराउने, मृत्यु भएका यादवकी श्रीमतीलाई रोजगारीको व्यवस्था गरिदिने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल जानकारी दिए । सोमबार बिहान ६ बजे गहुँ बारीमा पानी लगाउन यादवलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको मकुना हात्तीले आक्रमण गरेको थियो । लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियो ।
आफन्तले सम्बन्धित निकायसँग कुनै सहमति नभई शवको जिम्मा नलिने बताएपछि यस्तो निर्णय भएको हो ।
सहमतिसँगै आफन्तले शव बुझी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमका लागि लगेका छन् ।
यसैबिच कोशी टप्पुको रैथाने जंगली हात्ती मकुना नमारिने भएको छ । आरक्ष क्षेत्रमा जिउधनको क्षति पु¥याउदै आएको मकुना मार्ने योजना बनाइरहेको प्रशासनले प्राविधिकको राय पर्खिने भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा बसेको बैठक मकुना बौलाएको हो वा हैन् भन्ने विषय यकिन गर्ने सहमतिमा टुङिगएको छ ।