७ असार, काठमाडौ : पत्रकार रवि लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा गरेका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन्। चुनाव चिह्न घन्टी प्रस्ताव गरिएको छ।
नयाँ राजनीतिक दल घोषणा गर्दै लामिछानेले पार्टीको विशेषताबारे पनि जानकारी दिएका छन् । उनले पार्टी घोषणा समारोह लगत्तै निर्वाचन आयोग गएर पार्टी दर्ताको प्रक्रिया सुरु गर्ने बताए।
लामिछानेले आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि पनि पार्टीभित्र चुनाव गरिने बताए । पार्टीकै सदस्यले चुनेपछि मात्रै निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिने भएको छ।
उक्त पार्टीले युवा सहभागितालाई प्राथमिकता दिएको छ । लामिछानेका अनुसार पार्टीभित्र पचास प्लस एक युवा सहभागिताको परिकल्पना गरिएको छ । युवालाई राजनीतिक रुपमा सचेत बनाउन यस्तो व्यवस्था गरिएको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने विषयलाई जोडदार रुपमा अगाडि बढाउने लामिछानेले बताए। ‘ पार्टीभित्र जितेको मान्छे मात्र प्रधानमन्त्रीको उम्मेदवार बन्नेछ। मन्त्री छान्ने क्षमता र अधिकार पनि प्रधानमन्त्रीले पाउनेछ । मुख्यमन्त्रीमा पनि त्यही लागु हुनेछ,’ उनले भने।
पार्टीका सदस्यहरुले चुनेर पठाएका व्यक्तिले जिम्मेवारीमा पुगेपछि काम गर्न नसके फिर्ता बोलाउने अधिकार पनि पार्टीका सदस्यहरुमा रहने उनले बताए। यसलाई राइट टु रिकल एन्ड राइट टु रिजेक्ट भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल डेमोक्रेसीको अवधारणा लागु गर्ने भएको छ। पार्टीको सदस्यता वितरण देखि मतदान सम्म डिजिटल पद्धतिबाट गर्ने व्यवस्था गरिने लामिछानेले बताएका छन् । आफ्नो पार्टीभित्रबाट सुरु गरि डिजिटल डेमोक्रेसीको अवधारण देशैभर लागु गर्ने उनले बताए।
त्यस्तै पार्टीभित्र परिवारवाद र नातावादलाई पूर्णरुपमा निषेध गरिने लामिछानेले बताएका छन्। केन्द्रीय समितिदेखि कुनैपनि पद तथा राजनीतिक नियुक्तीमा नातागोतालाई नियुक्त नगर्ने उनले बताए । त्यस्तै पार्टीमा भएका व्यक्तिका परिवारले कुनैपनि लाभको पद नपाउने उनले बताए।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्ता र भ्रातृसंगठनविहीन हुने पनि बताएका छन् । उनले यस पार्टीमा कार्यकर्ता र भ्रातृसंगठन नभई सदस्यमात्रै रहने जानकारी दिए। ‘भ्रातृसंगठनको पसल थापेर राज्यको ढुकुटी दोहन नगरिने। चुनावमा भोट हाल्न केही पनि गर्नुपर्दैन । कसैले कसैको झोला बोक्नुपर्दैन । समयसमयमा भेला गरेर आलोचना मात्रै सुन्ने व्यवस्था हुनेछ । त्यस्ता भेला नेतृत्वमा रहने व्यक्तिलाई खबरदारी गर्नका लागि मात्रै हुनेछ।’
























