१० असार, भद्रपुर : देशकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आज आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।
‘दिगो सुशासन, पारदर्शी प्रशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको दिगो विकास, कचनकवलको अभियान’ भन्ने नाराका साथ गाउँपालिकाले सातवटा उद्देश्यसहित १२ वटा प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कचनकवलवासीको आवश्यकता र चाहनाबमोजिम प्राथमिकता क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिनु भयो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, वन संरक्षण, खेलकुद, पर्यापर्यटनलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।
प्रदेश नं १ का भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीले गाउँसभाको उद्घाटन गर्नुभएको थियो । उहाँले कृषिको विकासले समृद्धि हासिल गर्न सकिने भन्दै कचनकवलले कृषिलाई प्राथमिकतामा राखेकोमा प्रशंसा गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेतले स्वागत र योजना प्रमुख केशव मैनालीले स्वागत गर्नुभएको गाउँसभामा प्रदेश सांसद वसन्त वानियाँ, नेपाली कांग्रेस गाउँ सभापति तुलाराम अधिकारी, नेकपा एमाले गाउँ उपाध्यक्ष चेतराज भट्टराईलगायतले नीत तथा कार्यक्रमको प्रशंसा गर्दै पूर्ण कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

























