काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले सन् २०२१ मा चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिमलाई पठाउने निर्णय गरेको छ ।
एनभीएको बुधबार बसेको कार्यसमिति बैठकले महिला टिमले एसियन च्याम्पियनसिपमा पठाउन पहल गर्ने निर्णय गरेको हो । एनभीए अध्यक्ष मनोरन्जन रमण शर्माले महिला टिमको पछिल्ला प्रदर्शनहरुको आधारमा यो निर्णय गरेको बताए ।
‘हाम्रो महिला टिमले पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका छन् । त्यसैले अर्को वर्ष हुने एसियन च्याम्पियनसिपमा नेपाली महिला टिमलाई पठाउने निर्णय गरेका हौँ,’ शर्माले भने ।
अर्को वर्षको मध्यतिर हुने च्याम्पियनसिपका लागि २०२१ जनवरीसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । कूल १६ टिमले प्रतिस्पर्धा गर्ने च्याम्पियन्सिपमा आयोजक चीनसहित १० राष्ट्र छनोट भइसकेका छन् । सन् २०१९ मा दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा शीर्ष दशमा रहेका टिमहरु सिधै छनोट भएका हुन् ।
जसमा चीन चौथो भएको थियो । आयोजकको हिसाबले चीन छनोट भएको हो । चीनको स्थानको एसियाको अर्को उच्च वरियतामा रहेको हङक पनि छनोट भइसकेको छ । चीन र हङकङसहित अघिल्लो संस्करणको विजेता जापान, उपविजेता थाइल्याण्डसहित दक्षिण कोरिया कजाखस्थान चाइनिज ताइपेई इरान इन्डोनेसिया अष्ट्रेलिया र भारत सिधै छनोट भएका हुन् ।
बाँकी पाँच स्थानका लागि एसियाका पाँच जोनबाट एक एक टिम छनोट हुनेछन् ।
त्यसमध्ये सेन्ट्रल जोनमा नेपाल भन्दा बलियो टिम भारत छनोट भइसकेको र नेपालले गत वर्ष बंगलादेशमा भएको पहिलो संस्करणको महिला सेन्ट्रल जोन जितेकोले नेपालको सम्भावना बढी रहेको छ ।
एसियामा सेन्ट्रल जोनसहित इस्ट जोन वेस्ट जोन साउथ इस्ट जोन र ओसियान जोन रहेको छ ।
अब नेपालले च्याम्पियनसिपमा सहभागिता जनाउनको लागि तोकिएकै मितिमा टिम दर्ता गर्नुपर्नेछ । र त्यसलाई एसियाली भलिबल महासंघ एभिसीले स्वीकृति दिएमा नेपाली महिला टिमले अर्को वर्ष एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
बाँकी पाँच स्थानको लागि त्यो भन्दा बढी टिमले दाबेदारी गरेमा प्रदर्शनको आधारमा टिम छनोट गरिनेछ ।
कोरोना महामारीका कारण २०२० मा आयोजना हुने भनिएको सेन्ट्रल जोन लगायत विभिन्न प्रतियोगिता स्थगित/रद्द भएका छन् । जसले गर्दा नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएन ।
नेपालको महिला र पुरुष टिमले पछिल्लो पटक एक वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा प्रतिस्पर्धा गरेका थिए । जसमा महिला टिमले ऐतिहासिक रजत जित्दा पुरुष टिम भने समूह चरणबाटै बाहिरिएको थियो ।