१५ असार, मेचीनगर : मेचीनगर नगर स्काउट तदर्थ समितिको संयोजनमा मेचीनगर नगर प्रमुख र उपप्रमुखलाई दिक्षित गरिएको छ ।
नगर स्काउट संरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख उपप्रमुख पदेन रहने व्यवस्था भएकाले मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सपथ खुवाएर दिक्षित गरिएको हो ।

मेचीनगर स्काउट संरक्षक नगर प्रमुख बुढाथोकी र नगर स्काउट प्रमुख तथा नगर परिषद् अध्यक्ष उपप्रमुख उप्रेतीलाई राष्ट्रिय प्रशिक्षक भुवन सुब्बा खरेलले सपथ गराउनुभएको थियो । त्यस लगत्तै नगर स्काउट प्रमुख तथा नगर परिषद् अध्यक्ष उपप्रमुख उप्रेतीले स्थानीय स्काउट मेचीनगर समितिका पदाधिकरीहरु संयोजक रीता थापा, सदस्यहरु सुष्मा सुब्बा, शिवानी देवान, पूजा थापालाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।
यो सँगै नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरको आयेजनामा सञ्चालित नेपाल स्काउटको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ५ रात ६ दिवशीय आधारभूत स्काउट तालिम तथा स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको स्काउटर दुर्गाबहादुर लुइटेलले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय स्काउट मेचीनगरले अरुणोदय माध्यमिक विद्यालय परिसरमा तालिमको आयोजना गरेको थियो ।
नगर स्काउट सदस्य सचिव नगर शिक्षा शाखा प्रमुख रहने व्यवस्था छ । शाखा संयोजक होमनाथ भण्डारीको सपथ बाँकी छ । उहाँलाई नगर स्काउट प्रमुख उपप्रमुख उप्रेतीले सपथ गराउने कार्यक्रम छ । कार्यक्रममा बोल्दैं नेपाल स्काउटको विकास र प्रवद्र्धनमा मेचीनगर नगरपालिका उदारणीय हुने र स्थानीय स्काउटको पहलकदमी तथा सहयोगमा स्थानीय निकायमा स्काउटिङ्ग गतिविधि व्यापक हुने राष्ट्रिय प्रशिक्षक भुवन सुब्बा खरेलले विश्वास गर्नुभयो ।
अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निमित्त एक विद्यालय एक स्काउट दलको नीति कार्यान्वयनका लागि मेचीनगरका सबै विद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनको पहल भइरहेको स्काउट मेचीनगर तदर्थ समिति संयोजक रीता थापाले जानकारी दिनुभयो ।
तालिम समापन भए लगत्तै सहभागी शिक्षकहरुले आ—आफ्नो विद्यालयमा गएर स्काउट दल सञ्चालन गर्ने छन् । यही उद्घेश्यले तालिम आयोजना गरिएको स्काउटर दुर्गाबहादुर लुइटेलले जानकारी दिनुभयो ।
तालिममा मेचीनगरसहित रुपन्देही र नवलपरासी जिल्लाबाट समेत तालिममा सहभागी छन् । ३० पुरुष र २४ महिला गरी ५४ जना सहभागी भएपनि २ जान प्रशिक्षार्थीले विरामीका कारण तालिम पुरा गर्न सकेनन् । सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरु भुवन सुब्बा खरेल, शिवकुमार पौड्याल, नेपाल स्काउट १ नम्बर प्रदेश संयोजक रवि खनाल, सिवानी देवान, अरुण वस्नेत, गंगाराम राई लगायतले सो तालिममा विभिन्न कोर्षमा तालिम प्रदान गर्नुभएको थियो ।
तालिममा कोर्ष लिडरहरुमा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कट्वाल कार्की र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई हुनुहुथ्यो । स्काउटको संगठनात्मक विकासको लागि मेचीनगर नगरपालिकाको तर्फबाट यथेष्ठ सहयोग रहिरहने स्थानीय स्काउट नगर संरक्षक नगरप्रमुख बुढाथोकी तथा नगर प्रमुख उपप्रमुख उप्रेतीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँहरुले नगरपालिकामा स्काउटको तालिम इतिहासमै पहिलो कोसे ढुङ्गाको रुपमा सावित हुने बताउँदै स्काउट शिक्षाले एक व्यक्तिलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट आधारभूत तालिम आवश्यक रहेको जानकारी गराउनुभयो ।
आधारभूत स्काउट तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय मेचीनगर स्काउटले तालिमको आयोजना गरेको मेचीनगर संयोजक रीता थापाको भनाई छ । स्थानीय मेचीनगर नगर स्काउट संयोजक रीता थापाको अध्यक्षतामा भएको समापन समारोहमा स्थानीय स्काउट नगर संरक्षक नगरप्रमुख बुढाथोकी तथा नगर प्रमुख उपप्रमुख उप्रेतीले ५२ जनालाई प्रमाण पत्र, ब्याज, तथा स्कार्फ वितरण गर्नुभएको थियो ।
स्काउटर दुर्गाबहादुर लुइटेलले सञ्चालन गर्नुभएको समापन समारोहमा सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवानले स्वागत गर्नुभएको थियो ।

























