२० असार, काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी र ज्वाइँ दुवै जना समेटिएका छन्।
आइतबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले शपथ खुवाएकोमध्ये प्रचण्डकी कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि समावेश भएका हुन्। केन्द्रीय सदस्य सूचीको ३ सय १३ नम्बरमा छोरी गंगा र ३१८ नम्बरमा ज्वाइँ आचार्यको नाम छ।
आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। माओवादीले पदाधिकारीको भने अझै टुंगो लगाएको छैन।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्। अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्।
बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।
























