कांग्रेस नेत्री पुष्पा भुसाल प्रतिनिधिसभाकाे उपसभामुखमा चयन भएकी छन्।
उपसभामुखमा चयनका लागि आज (शुक्रबार) भएकाे निर्वाचनमा उनी १४८ मत ल्याई उपसभामुखमा विजयी भएकी हुन्।
उनी पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रही प्रमुख विपक्षी एमालेकी उम्मेदवार विद्या भट्टराईलाई ५५ मतले पराजित गरी उपसभामुख बनेकी हुन्।
भुसालले १४८ मत ल्याउँदा भट्टराईले ९३ मत ल्याइन्। तटस्थमा १ मत खसेको थियो। निर्वाचनमा जम्मा २४२ मत खसेकाे थियाे।
उनलाई आफ्नै दल कांग्रेससहित सत्तारूढ गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले समर्थन गरेका थिए।
त्यस्तै लोकतान्त्रिक समाजववादी पार्टी (लोसपा) ले पनि भुसालकै पक्षमा मत दिएको थियो। तटस्थ बसेका दलहरूबाहेकले भट्टराईकाे पक्षमा मत हालेका थिए।
साढे दुई वर्षकाे अन्तरालपछि आज (शुक्रबार) प्रतिनिधिसभाले उपसभामुख पाएको हाे।
२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज भुसाल विजयी भएकी हुन्।

























