साहित्य चौतारीद्वारा राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण

A notice in Nepali from Mechinagar Ward No. 10

३१ असार, बिर्तामोड : साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ ।

२०५६ असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, संगीत, कला, भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा चौतारीले सङ्गीत साधक कुशेश्वर राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण गरेको छ । शास्त्रीय संगीतलाई पूर्वमा स्थापित गर्ने मेहनती प्रतिभाका रुपमा राईले आफ्नो परिचय बनाएका छन् ।

संगीत साधक राईलाई कार्यक्रमका प्रमुख अतिथि इलाम निवासी लोकगायक देवीप्रसाद गौतम, साहित्य चौतारीका संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला बिमली तथा चौतारीका अध्यक्ष हस्त परियारले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरेका छन् ।

कार्यक्रममा चेलागणसहित उपस्थित भएका विराटनगर निवासी राईले आफूलाई साहित्य चौतारीले सम्झिएकोमा हर्ष लागेको बताए । राई २३ वर्षदेखि पूर्वीय लोकभाका र शास्त्रीय संगीतको विकासमा निरन्तर क्रियाशील छन् ।

साहित्य चौतारीका संगीत उपाध्यक्ष दीपक रायमाझीले राईको जीवनीमाथि प्रकाश पार्दै एउटा विशिष्ट प्रतिभालाई सम्मान गर्न पाउँदा धेरै खुशी लागेको बताए । साहित्य तर्फका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले राईको कदरपत्र बाचन गरेर सुनाएका छन् ।

सिंहबाहिनी महिला समूहको नौमती बाजासहित आयोजना भएको कार्यक्रममा गीत गायनका साथै नृत्य समेत प्रस्तुत गरिएको छ । कार्यक्रममा अध्यक्ष परियारले वार्षिक कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

संरक्षक श्रेष्ठले रामायण बाचन गरेर भानुभक्तप्रति श्रद्धा व्यक्त गर्दै साहित्य चौतारीको यात्रामा धेरै सहयात्री रहेको बताएका छन् । प्रमुख अतिथि गौतमले कार्यक्रममा दुईवटा लोक भाकामा आधारित गीत प्रस्तुत गर्दै सहभागी सबैलाई छमछमी नचाएका छन् ।

कार्यक्रममा बोल्दै बिर्तामोडका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले साहित्यिक अभियानमा चौतारीको भूमिका प्रशंसनीय रहेको बताएका छन् । प्राज्ञ सभा सदस्य शुभद्रा अर्यालले धेरै साहित्यिक प्रतिभा जन्माएको साहित्य चौतारी अव युवा भएको बताइन् ।

साहित्य चौतारीले आफ्नै भौतिक संरचनासहितको घर बनाउनु पर्नेमा अर्यालले जोड दिएकी छन् । कार्यक्रममा मोरिक कला केन्द्र र साधना कला केन्द्रका विद्यार्थीले गीत संगीत र नृत्य प्रस्तुत गरेको साहित्य चौतारीकी सचिव खगिन्द्रा खुशीले बताइन् ।

कार्यक्रममा सहभागिता जनाउन भारतबाट पनि कलाकार र स्रष्टासर्जक उपस्थित भएका छन् । पश्चिम बंगालको सिलगुडीबाट सुमन निरौला र जीवन अधिकारीसहितको टोली कार्यक्रममा सहभागी भएको छ ।

काव्यसभा संयोजक सुनिता तामाङका अनुसार कार्यक्रममा कुमारी चेम्जोङ, मनिषा भट्टराई, समिर खरेल, जयनारायण भट्टराई, लिसारा थापा, शिव अधिकारी (इलामे जेठो), सरगम संगीतालय, रक्षा तिम्सिना, राधाकृष्ण मण्डली लगायतका तर्फबाट गीत संगीत प्रस्तुत र साहित्यिक रचना बाचन गरिएको छ ।

सहभागी अतिथिहरुलाई संरक्षक श्रेष्ठ र अध्यक्ष परियार लगायतले मायाको चिनो हस्तान्तरण गरेका छन् । औपचारिक कार्यक्रमअघि सिंह बाहिनी महिला समूहको नौमती बाजागाजासहित प्रभातफेरि आयोजना गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.