भट्टराईद्वारा कारबाही खारेजीको माग

A notice in Nepali from Mechinagar Ward No. 10

३२ असार, काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भर्त्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गर्नुभएको छ । अध्यक्ष यादवले भने पार्टीको विधि, विधान र पद्धतिअनुरुप नचलेकाले उहाँहरुलाई कारबाही गरिएको स्पष्ट पारेको छ ।

जसपाका नेता मोहम्मद इस्तियाक राईले भन्नुभयो, “पार्टीको बैठक अध्यक्षले बोलाउने हो, अर्को पक्ष (बाबुराम भट्टराई पक्षका नेता) बैठकमा सहभागी नहुनु उहाँहरुको इच्छा हो, पार्टी सञ्चालन प्रक्रिया पार्टीको राजनीतिक दलको विधानअनुरुप हुने हो ।”

सङ्घीय परिषद् अध्यक्ष भट्टराईले  पार्टी रुपान्तरणका लागि अनवरतरूपमा खटिएका केन्द्रीय सदस्यलगायत सबैलाई पार्टी पुनर्गठनका लागि पनि अपिल गर्नुभएको छ । “हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन”, विज्ञप्तिमा भनिएको छ ।

पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको भन्दै उहाँले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर अवैधानिकरूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाउनुभएको छ ।

यता भट्टराई पक्षको यही असार २८ र २९ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रुपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.