विवाहेत्तर सम्बन्धले टुट्दै परिवार

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, काठमाडौँ : गत असार ११ गते गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिइन्। प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मि श्रका अनुसार उनका प्रेमी भनिएका सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठले नै हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रहरीका अनुसार मृतक सुनार र श्रेष्ठको २ वर्षदेखि प्रेम सम्बन्ध थियो। विवाहित सूर्य र सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी गायिका सुनारबीचको घनिष्टताले श्रेष्ठ परिवारमा समस्या आइरहेको थियो। श्रेष्ठको घरमा श्रीमती र ४ जना छोराछोरी छन्। मृतकका आफन्तका अनुसार श्रेष्ठ श्रीमान्कै परिचयमा सुनारको कोठामा आउजाउ गर्थे। घटनाको दिन पनि उनीहरू सँगै थिए। परिवारका अनुसार श्रेष्ठलाई सुनारले विहे गर्न दबाब दिएपछि हत्या भएको हो।

त्यस्तै, गत असार २६ गते अन्नपूर्ण गाउँपालिका–७ कास्कीको जंगलमा बनेपाको दिवाकर थापा र सुदिना कर्माचार्य एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परे। बनेपाका उनीहरू कास्की गएर आत्महत्या गर्नुपर्ने एउटै कारण थियो। उनीहरूबीचको विवाहेत्तर सम्बन्ध। घटनाको अनुसन्धानका क्रममा दिवाकर र सुदिना प्रेम सम्बन्धमा रहेको खुल्न आएको थियो। दिवाकरको श्रीमती अस्टेलियामा छन् भने सुदिनाको श्रीमान् बनेपामै व्यापार व्यवसाय गर्ने गर्छन्।

त्यस्तै, गत फागुनमा पाँचथर मिक्लाजुङ–१ की ३९ वर्षीया सुमित्रा तामाङ धरानको एक होटलमा मृत भेटिइन्। इटहरी–५ जनता बस्तीमा डेरा गरी बस्ने उनको हत्या भएको प्रहरीको दाबी छ। वैदेशिक रोजगारीका लागि उनका श्रीमान् बु्रनाइमा रहेको र उनी भूपू इन्डियन आर्मीसमेत भएको खुलेको छ। छोराछोरी पढाउन इटहरी झरेकी तामाङ परपुरुषसँग सम्बन्ध राखेकै कारण मारिइन्। हत्या आरोपमा उनका प्रेमी प्रहरी हिरासतमा छन्।

यस्तै, गत फागुनमा इलाम चुलाचुलीका दिनेश सिग्देलको शव धरान, धनकुटा सडकखण्डको जंगलमा फेला परेको थियो। हत्या आरोपमा उनको श्रीमती अनिता केसी र अनिताको प्रेमी सरोज भण्डारी प्रक्राउ परेका छन्। रोजगारीको शिलशिलामा बिदेसिएका दिनेश अनितासँग १० वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। उनको हत्या भने पुस २२ गते नै गरिएको थियो। विदेशबाट फर्किएकै दिन पैसाको विषयमा श्रीमतीसँग विवाद भएको र अर्को दिन अनिताले प्रेमीलाई बोलाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यी केही प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय बढ्दै गएको विवाहेत्तर सम्बन्धले समाजमा अपराध बढाउँदै गएको छ। सम्पत्ति हिनामिनादेखि बालबच्चाको विचल्ली, परिवार टुट्ने र टुटाउने, परिवारै सखाप बन्नेदेखि ठगी, ब्ल्याकमेल जस्ता अपराध बढ्दै गएका छन्। यसले आत्महत्याको दर पनि बढेको देखिन्छ। सम्बन्ध विच्छेद गर्ने संख्या वृद्धि भएको छ।

सम्बन्ध विच्छेदको मुख्य कारण

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार सम्बन्ध विच्छेद गर्ने संख्या उल्लेख्य वृद्धि भएको छ। आव २०७६/०७७ मा २ हजार ७९ जनाले सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएका थिए। आव २०७७/०७८ मा २ हजार ४९२ र आव २०७८/०७९ मा ३ हजार ८७७ जनाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका थिए।

‘अदालतमा सबैभन्दा बढी आउने मुद्दा नै यही हो। सम्बन्ध विच्छेद हुने अधिकांश कारणमा पतिपत्नीको एक्स्ट्रा अफेयर नै हो,’ दाहाल भन्छन्, ‘८० प्रतिशत जस्तो मुद्दामा विवाहेत्तर सम्बन्ध प्रमुख कारण देखिएको छ। केही जोडीले त साथमा प्रेमी वा प्रेमीका लिएर पनि सम्बन्ध तोड्न आउनुहुन्छ।’ उपत्यका अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार बढ्दै गएको वैदेशिक रोजगारीले दम्पतीबीचको सम्बन्धमा समस्या देखिन थालेको छ। लामो समयसम्म भेटघाट नहुने, एक्लो बसाई, परिवारको आर्थिक तथा सामाजिक जिम्मेवारीले पनि पतिपत्नी विवाहेत्तर सम्बन्धमा रहने गरेका छन्। दम्पतीबीचका समस्याहरू शेयर नगर्ने, इगो बढ्ने, अनावश्यक महŒवाकांक्षा र एक–अर्काबीच अनावश्यक शंकाले गर्दा बाहिरी मान्छेसँग नजिकिएको देखिन्छ।

कोइराला भन्छन्, ‘आपसी सम्बन्धमा असमझदारी हुनु र एक अर्कामा आशंका उत्पन्न हुनु नै विवाहेत्तर सम्बन्धको प्रमुख कारण हो। यसले गर्दा एक परिवार मात्रै हैन पूरै समाजमा असर देखापर्छ।’ पछिल्लो समय समाजमा नैतिक तथा धार्मिक अनुशासन घट्दै गएको कोइरालाको भनाइ छ।

अपराध किन बढ्यो ?

मनोविद् करुणा कुँवर सामान्य मानिसले अपराध गर्न नसक्ने बताउँछिन्। ‘अपराध गर्ने व्यक्तिमा असामान्य परिस्थिति वा कारण देखिएकै हुन्छ। मानसिक रूपमा विच्छिप्त मानिस अपराध कर्ममा जोडिएको देखिन्छ। हत्या वा आत्महत्यासम्म पुग्ने मानिसले यसअघि धेरै संकेतहरू देखाएका हुन्छन्। परिवारले बुझ्ने र समस्या समाधान गर्नेतिर लाग्नुपर्छ,’ उनले भनिन्। समाजशास्त्री डा.डम्बर चेम्जोङका अनुसार समाजको स्वरूप हरेक दिनजसो परिवर्तन भइरहेको छ।

पछिल्लो समय समाजमा संयुक्त परिवार कम र एकल परिवारको संख्या बढ्दो छ। मानिस हामी भन्न छाडेर म र मेरो भन्नेमा महŒव दिन थालेका छन्। उनी भन्छन्, ‘जकडिएको पितृसत्तामा अल्मलिएको समाजले विस्तारै स्वतन्त्रता खोजिरहेको छ। यसको संकेत स्वरूप परिवारमा विविध समस्या देखापर्न थालेको छ ।’

अन्नपूर्णपोष्टबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.