८ भाद्र, काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन्।
बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे।
१४ वर्षसम्म राष्ट्रिय फुटबल टोलीबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद भएको थियो। विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टोली बनाएका थिए। यसले गर्दा कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडी वञ्चित रहे।
गोलकिपर चेम्जोङले अन्य खेलाडीभन्दा आफूले टोलीलाई बिचलित बनाउने कुरा नगर्दा समेत टोलीबाट आफू निकालिएको बताए। बिनाकारण टोलीबाट निकालिँदा सञ्चारमाध्यमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे। चेम्जोङले आफूलाई टोलीबाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको स्पष्ट पारे।
नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रीपूर्ण खेल खेल्दै छ। सोही खेलका लागि गोलकिपर किरण पनि टोलीमा समावेश छन्। लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोलीबाहिर रहँदा आराम भएको गोलकिपर चेम्जोङले बताए। चेम्जोङले कुनै पनि खेलाडीले व्यक्तिका लागि भन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने बताए।
असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद नतिजा दिलाउने प्रतिबद्धता प्रमुख प्रशिक्षक प्रदीप हुमागाईले व्यक्त गरे। एक साताको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ। फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताए।
हुमागाईले अलमुताइरीले निकालेका खेलाडीलाई टोलीमा फर्काएका छन्। अभ्यासमा सहभागी १० खेलाडीमध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताए। मैदानमा फर्किएर एउटै टिममा अभ्यास गर्न पाउँदा निकै खुशी लागेको र नयाँ शुरुवातका साथ अगाडि बढेको बताए।
प्रशिक्षक हुमागाईले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन्। उनले मैत्रीपूर्ण खेलका लागि अनुभवी र नयाँ खेलाडीलाई समावेश गरेका छन्।

























