१७ भाद्र, झापा : झापा मेचीनगरको थोप्लेबिराम सामुदायिक वनको बाटो भएर स्कुटरमा बुद्धशान्ति घरतर्फ जाँदै गरेकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–९ मा रहेको थोप्लेबिरानबाट बुद्धशान्ति–५ स्थित घर जाँदै गरेकी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको हो ।
मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखा परेको हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो ।
घाइते अवस्थामा उनलाई उपचारका लागि मेची आम्दा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भदौ १४ गते बाह्रदशी–१ का ८० वर्षीय देबीबहादुर अधिकारीको पनि हात्तीको आक्रमणमा मृत्यु भएको थियो । अधिकारी स्थानीय मनकामना सामुदायिक बनमा घाँस काट्न जाँदा सो घटना भएको थियो ।

















