सहिद सूर्यकाे सालिक ताेडफाेड : सहिद परिवार भन्छ-“छाेराे नै ढले जस्तो भएको छ”

A notice in Nepali from Mechinagar Ward No. 10

२८ भदौ , बेसी बजार ‐मेचीनगर : नचिनेको मान्छेको एक समूहले सोमबार झापाको मेचीनगर—३ स्थित बेसीबजारमा रहेको सहिद सुर्यप्रसाद खनालको अर्धकदकाे  सालिक तोडफोड गरेको छ ।

२०४० साल चैत १५ गते जन्मिएका सूर्यप्रसाद खनालको १७ वर्षको उमेरमा १० वर्षसम्म चलेको जनयुद्घकाक्रममा २०६१ साल भदौ २२ गते तात्कालिन शाही नेपाली सेनाले चलाएको गोली लागेर निधन भएको थियो । छोराले शाहदात प्राप्त गरेपछि उनको परिवारले राज्यबाट सहिदले प्राप्त गर्ने सुविधा रकमबाट ऐलानी करीव डेढ कठ्ठा जग्गामा सहिद परिवारले सुविधा सम्पन्न दुर्गा मन्दिर र मन्दिर परिसरमा सहिद सूर्यको अर्धकदकाे सालिक निर्माण गरिदिएको थियो । सहिद परिवारले राज्यबाट प्राप्त गर्ने सवै रकम सामाजिक काममा लगाउने गरेको छ । राज्यले दिईएको केही रकममध्ये बहुवन माविमा अक्षय कोषसमेत स्थापना गरेको छ खनाल परिवारले खनाल परिवारले १ लाख ४० हजार रुपैयाँमा सहिदको सालिक र ९ लाख ४४ हजार रुपैयाँमा मन्दिर स्थापना गरेको थियो ।

त्यसपछि संघीय सरकार ८ लाख तथा प्रदेश सरकार, अन्य निकाय संघ संस्था स्थानीय सरकार मेचीनगर नगरपालिका र उपभोक्ता समूहबाट ८ लाख रुपैयाँ बजेटको श्रोतबाट सूर्य खनाल स्मृति प्रतिष्ठान मेचीनगर—३ पर्खाल घेरावारा योजनाको काम सम्पन्न भएको थियो । करीब २ हजार २  सय ८० जनसंख्याले प्रत्यक्ष लाभ लिन सक्ने यो योजनाको समझौ २०७८ जेठ ३० भएर काम पनि सोहि दिनदेखि शुरु भएको थियो ।

प्रतिष्ठानले घेरावारा गरेको परिसरभित्र मन्दिर र सहिद सुर्यप्रसाद खनालको अर्धकदकाे सालिक रहेको छ । पर्खाल नाघेर समूह भित्र प्रवेश गरेर तोडफोड गरेको स्थानीयको भनाई छ । नचिनेको समूहले सहिद सूर्यको सालिक फुटाएर क्षति बनाएको छ भने मन्दिर भित्र रहेको दुर्गाको मूर्तिमा समेत क्षति पुर्याएको छ । सहिदको नाक तथा आँखाको भागमा क्षति पुर्याएको छ भने दुर्गाको मूर्तिको हात तथा त्रिशुल तोडफोड गरेको दुर्गा मन्दिर सञ्चालक समिति अध्यक्ष गायत्रा पौडेलले बताउनुभयो । मन्दिर भित्रै रहेको शिवलिङ्ग समेत बाहिर ल्याएर फ्याकिएको छ । ‘हामीले त विहान पूजा गर्ने बेलामा मात्र सवै थाहा पायौं ’ अध्यक्ष पौडेलले भन्नुभयो—‘सहिद सुर्यको सालिक फुटाउने र मन्दिरभित्र रहेको दुर्गाको मूर्तिमा समेत क्षति पुर्याउने त्यो समूहको हर्कतको चौतर्फी विरोध भइरहेको छ ।’

सहिदको सालिक ढालेर र दुर्गामाताको मूर्ति भत्काउँदैंमा उनीहरुको चाहना पुरा नहुने सहिद सूर्यका वयोवृद्घ माता सुभद्रा खनालको भनाई छ । जिउँदो ज्यान गोलीले उडाइदिदाँ जति हामीलाई पीडा थियो अहिलेको घटना निर्जिव शालीक तोड्फोडले उत्तिकै पीडा दिएको सहिद माता खनालको भनाई छ । ‘यो घटनाले २०६१ साल भदौ २२ गतेकै पीडा बल्झियो’ उहाँले भन्नुभयो—‘उस्वेला सेनाको गोलीबाट छोरो ढल्यो अहिले नचिनका मान्छेको हम्मरबाट सालिक फूट्यो ।’

देश र जनताको अग्रगामी परिवर्तनमा उत्सर्ग दिनुहुने महान सहिदप्रति उच्च सम्मानसहित दोषीलाई कानुनी कठघरामा उभ्यिाएर कारवाही गर्न सहिद आमा खनालको माग छ ।
यो शालीकमाथिको आक्रमण नभएर देशभरकै वीर सहिदमाथिकै आक्रमण भएको सहिद सूर्यप्रसाद खनालका पिता तुलाराम खनालको भनाई छ । देश र जनताका लागि जीवन बलिदान गर्नु हुने वीर सहिद सूर्यप्रसादको मेचीनगरस्थित सालिकमाथिको आक्रमण संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको आक्रमण भएको स्थानीयको भनाई छ । घटनामा संलग्नहरुको पहिचान गरी चाडै राज्यविरुद्धको मुद्दासहित तुरुन्तै कानुनको कठघरामा उभाउनुपर्ने अध्यक्ष सहिदका दाजु नारायणप्रसाद खनालको भनाई छ ।

सहिद खनालको सालिक तोडफोड भएकोमा तोडफोड गर्नेको पहिचान गरी उनीहरुलाई यथाशिघ्र कार्बाही होस् भन्ने माग सहिद परिवारसहित स्थानीयवासीको छ । ‘यस घटनाको घोर भत्र्सना गर्दछौं ’ स्थानीय टिकाराम रिजालले भन्नुभयो—‘सहिद सूर्यप्रसाद खनालाको सालिक तोडफोडको घटनाका दोषीहरुलाई कडाभन्दा कडा कार्वाही गरियोस् ।’ घटनाको जानकारी पाए लगत्तै मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती त्यहाँ पुग्नु भएको थियो । ‘सहिदको सालिक तोडफोड हुन दुःखद घटना हो’ उपप्रमुख उप्रेतीले भन्नुभयो—‘सहिदको सालिक तोडियो खबरले दुखित तुल्यायो ।’

जनताको मुक्तिको लागि बलिदान गरेका सहिदहरुको अपमान गर्न नहुने भन्दैं सालिक तोडफोड गर्नेमाथि कारवाहीको माग गर्दै घटनाको सत्यतथ्य छानबीनकालागि सम्बन्धित प्रशासनको नगर उपप्रमुख उप्रेतीले ध्यानाकर्षण गराउनु भएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले प्रहरी चौकी तिरीङ्गललाई घटनाको सत्यतथ्य छानबीन गर्न र घटनामा संलग्नको पहिचान गर्न भनिएको बताउनुभयो । प्रहरी नायव उपरीक्षक महत्तोसहितको प्रहरी टोली घटनास्थल पुग्ने र घटनाका विषयमा थप अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय काँकरभिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.