बहुमतको सरकार हुदाँ कवाडीको मोलमा बेचेको देशका ठूला कलकारखानाहरुको हिसाव किताव खोई ?-अग्निप्रसाद खरेल

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असोज, मेचीनगर : नेपाली काँग्रेसले आफु सत्तामा भएका बखत कवाडीको मोलमा बेचेको देशका ठूला कलकारखानाहरुको हिसाव किताव अब खोज्ने बेला आएको पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले बताउनुभएको छ ।

शुक्रबार झापाको मेचीनगर—६ काँकरभिट्टामा नेकपा एमाले—६ नम्बर वडा नर्विाचन परिचालन कमिटीले आयोजना गरेको उम्मेदवारसँग भेटघाट कार्यक्रममा बोल्दैं ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेकातर्फबाट झापा १ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु भएका खरेलले नेपाली काँग्रेसका कारण देशका ठूला कलकारखाना बेचिएको र युवाहरू विदेशिन बाध्य भएको दाबी गर्नुभयो ।

नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको पूर्व महान्याधिवक्ता समेत रहनु भएका खरेलले बताउनुभयो । २०४८ सालमा नेपाली काँग्रेसको बहुमतको सरकार रहेको समरण गराउदैं ‘हरिसिद्धि इँटा टायल कारखाना कहाँ छ ? भृकुटी कागज कलकारखानादेखि बालाजु कपडा कारखाना कस्ले बेच्यो ? बाँसबारी छालाजुत्ता कारखानामा सौदाबाजी कस्ले गरयो ? जनकपुर चुरोट कारखाना किन बेच्नु पर्यो अहिले कहाँ छ ?’नेता खरेलले प्रश्न गदैं भन्नुभयो—‘अब यसको हिसावकिताव सवै नेपाली जनताले खोज्ने छन् । नेपाली काँग्रेस सत्तामा रहँदा विकास निर्माणका आयोजनाहरूको चरम दोहन गरेको छ ।’ वीरगञ्ज, सर्लाही चिनी कारखाना समेत नेपाली काँग्रेसले बेचेको नेपाली जनताले नविर्सेको नेता खरेलको भनाई थियो ।

भृकुटी कागज कारखाना २०४९ साल कात्तिक ५ गते बिक्री गर्दा सरकारको को थियो उहाँले प्रश्न गर्नुभयो । दर्शकदीर्घाबाट जवाफ आयो नेपाली काँग्रेस । हरिसिद्धि इँटा टायल कारखाना कात्तिक १४ गते २०४९ सालमा ‘२०४९ साल कात्तिक २४ गते बाँसबारी छालाजुत्ता कारखाना सौदाबाजीमा परेको बालाजु कपडा उद्योग २०५० सालमा पनि काँग्रेसले नै बेचेको नेता खरेलले दाबी गर्नुभयो ।

अब नेपाली जनताले काँग्रेसका पालामा बेचिएका उद्योगधन्दा पुनःस्थापना गराएरै छाड्ने र निर्वाचनका क्रममा भोट माग्न आउने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुलाई नेपाली जनताले देशका ठूला कलकारखानाहरु खोई भनेर प्रश्न गर्नपर्ने बताउनुभयो ।

नेता खरेलले आफु महान्यायधिवक्ता भएको बखत महान्यायधिवक्ताको कार्यालयले प्रत्येक प्रदेशमा सात नमूना सरकारी वकिल कार्यालय स्थापना गरेको स्मरण गराउनुभयो । खरेलले सरकारी वकिल कार्यालयका काम कारवाही सेवा प्रवाहलाई प्रभावकारी बनाउन सातै प्रदेशमा सात नमूना वकिल कार्यालय स्थापना गरेर निक्कै प्रशंसनिय काम गरेको दाबी गर्नुभयो । महान्यायधिवक्ता कार्यालयले ती कार्यालयको काम प्रभावकारी बनाउन विशेष मार्ग दर्शनसमेत दिएका बताउनुभयो । उहाँले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीपंक्तिलाई होमिनका निम्ती, लाग्नका निम्ती निर्वाचनलाई सफल बनाउनुका निम्ती अनि नेकपा एमालेले उठाएको झण्डालाई अझ माथि उठाउनकालागि आग्रह गर्नुभयो ।

‘यो निर्वाचन एकखालको युद्घ मैदान नै हो’ नेता खरेलले भन्नुभयो—‘युद्घ मैदान भन्ने वित्तिकै मानिसका हातमा गोली गठठ हुदैनन् हरेक मानिससँग सिद्घान्त, विचार, कार्यक्रम, योजना र नीतिका गोली गठ्ठा हुन्छन तिनै विचार र सिद्घान्तको नाता हरेक मानिससँग छ । हरेक मान्छेसँग रगतको नाता नभए पनि अभिन्नरुपमा गासिएको विचार हुन्छ । पार्टीमा विचारको नाताले काम गर्छ । एउटै विचार दार्शनिक आधार भएका मानिस एउटै पार्टीमा रहन्छन् । रगतको नाताभन्दा विचारको नाता बलियो हुन्छ । विचारको नाताले मान्छेलाई समातेको हुन्छ समेटेको हुन्छ ।’

कार्यक्रममा बोल्दैं नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ ‐क) का उम्मेदवार रविन कोइरालाले नेपाली काँग्रेसका उम्मेवार विश्व प्रकाश शर्मालाई अग्निप्रसाद खरेललाई पहिर्याउनकालागि माला उन्न सुझाव दिनुभयो । उहाँको भनाई विश्वप्रकाश शर्माको भाषणप्रति लक्षित थियो । नेकपा एमालेका झापा सहइञ्चार्ज समेत रहनु भएका नेता कोइरालाले हिजो राम कार्कीलाई एमालेले मत दिएर जिताउदैं गर्दाको अवस्था स्मरण गराउँदैं अहिले राम कार्की विश्वप्रकाश शर्मालाई मत माग्दैं हिडेको बताउँदैं अहिले काँग्रेसले भने जस्तो एमालेले यो गरेन् त्यो गरेन् भन्नुभन्दा पनि विश्वप्रकाश शर्माले अब जवाफ दिनुपर्छ राम कार्कीले हिजो बोलेका कुरा किन पुरा नगरेको ? पार्टीका वडा अध्यक्ष रुद्रप्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक एवम् नेकपा एमाले सल्लाहकार परिषद सदस्य विष्णुप्रसाद प्रसाईलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव राजु पौडेलले गर्नुभएको थियो । नेकपा एमालेले शुक्रबार मेचीनगरको ४ नम्बर वडा बाहुनडाँगीसहित मेचीनगरका २, ३, ६, ७, ८ १५ वडा र निर्वाचन क्षेत्रनम्बर १ मा पर्ने बुद्घशान्ति गाउँपालिकाका वडाहरुमा कार्यक्रम गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.