साभार : इकान्तिपुर
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स(एलओडी) पुगेका छन् । चुनाव नजिकिँदै गर्दा उनी नेकपा एमालेको चुनावी र्याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् ।

केपी ओलीका बारेमा बनाइएको र्याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो । अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन् ।
‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।
पहिलेपहिले प्रायजसो लोकदोहोरी गीतमा चुनावी प्रचारप्रसार हुने गरे पनि पछिल्लो पटक भने दलहरूले युवाहरूमाझ लोकप्रिय रहेका विधामा पनि गीतहरू बनाउन थालेका छन् । शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्याप गीत पनि सार्वजनिक भएको थियो ।
यसअघि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहालमाथि केन्द्रित रहेर र्याप गीत सार्वजनिक गरेको थियो । त्यस्तै शुक्रबार नै उसले चुनावी ‘रक’ गीत सार्वजनिक गरेको छ ।
तस्बिर : केपी शर्मा ओलीको निजी सचिवालय

























