इटहरी । उत्तर–दक्षिण कोशी करिडोरमा बाँकी स्थानमा ट्रयाक खोल्ने काम नेपाली सेनालाई जिम्मा दिइएको छ । ट्रयाक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ ।
यो करिडोरले दक्षिणमा मोरङको विराटनगरलाई उत्तर संखुवासभाको किमाथांकालाई जोड्ने छ। मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण भइरहेको छ।
करिडोरअन्तर्गतको १४ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी थियो । सोको जिम्मेवारी सरकारले गत फागुनमा नेपाली सेनालाई दिएको थियो । अहिले राजमार्गको १० किमी स्तरोन्नति भइरहेको छ भने ३९ किमी कालोपत्र गर्न लागिएको छ ।
कोशी करिडोर खाँदबारी–किमाथांका सडक योजनाका अनुसार संखुवासभाको भोटखोला गाउँपालिकाको धोङ्पाबाट च्याम्ताङसम्मको सडकको ट्रयाक खुल्न बाँकी छ। नेपाल–चीन सिमाना किमाथांकाबाट धोङ्पासम्म १४ किमी ट्रयाक उत्तरबाट दक्षिण खुलेको छ ।
नेपाली सेना साइटमा जाने तयारी गर्दैछ। निर्माणाधीन उक्त राजमार्गमा विभिन्न स्थानमा कठिन भूगोल भएकाले एलाइमेन्ट लैजान गाह्रो भइरहेको छ । चट्टान नै चट्टान भएको ठाउँबाट सडक खोल्न गाह्रो भए पनि काम भइरहेको बताइएको छ ।
निर्माण सामग्री नपाइने र पाउँदा पनि गुणस्तरीय नपाउने समस्या छ । राजमार्गको उत्तरतर्फ कतिपय स्थानमा वर्षमा चार महिना मात्रै काम गर्न सकिन्छ। ुमौसम र अरु कुरा सहज भएमा माघदेखि वैशाखसम्म मात्रै काम गर्न सकिन्छ ।
उक्त करिडोरमा अरुण तेस्रो परियोजनाले संखुवासभाको फाक्सिन्दादेखि अरुण तेस्रो परियोजनासम्म ३० मिटरमा मुआब्जा दिइसकेको छ। राजमार्ग निर्माणाधीन भए पनि ट्रयाक खुलेका ठाउँमा गाडी चल्न थालेको छ।