१३ वैशाख, काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी प्रदेश नामकरणमा विरोध गर्नेहरूले ढुंगामुढा गरेका बताए। उनले उक्त घटना हुनु दुःखद भएको भन्दै सरकारका तर्फबाट निन्दा गरेको बताए।
उनले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराए। गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे।
उनले भने‚ ‘प्रहरीले ढुंगामुढा प्रहारमा संलग्न एकजना र त्यसरी प्रस्तुत हुनेलाई अहिले नियन्त्रणमा लिएको छ। यो क्रममा दुईजना प्रहरी घाइते भएका छन्। केपी शर्मा ओलीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ। शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने‚ शान्तिपूर्ण आवतजावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन।’

























