गौतमबुद्ध विमानस्थलमा भारतले आईएलएस अनुमति दिएको छैन, प्राधिकरण महानिर्देशकले ‘मिस लिड’ गरे

A notice in Nepali from Mechinagar Ward No. 10

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनको अनुमति पाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कुरा फेरेका छन् भने यो विषयमा ‘डिल’ गरिरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ‘मिस लिड’ गरेका छन्।

भारत भ्रमणको क्रममा नेपालका प्रधानमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नै आईएलएस सञ्चालनको अनुमति पाएको गलत सूचना दिएका हुन्।

यो विषयको ‘डिल’ गरिरहेका महानिर्देशक अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई प्राविधिक कुराहरू बुझाउनु पर्नेमा उनले नै ‘भारतले आईएलएस सञ्चालनको अनुमति दियो’ भन्दै झुटो सूचाना दिइरहेको पाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालले हालसम्म गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनको लागि अनुमति नपाएको स्पष्ट पारेको छ।

‘मन्त्रालयले अहिलेसम्म भैरहवामा आईएलएस सञ्चालनको अनुमति पाएको औपचारिक जानकारी आएको छैन,’ मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने, ‘प्रधिकरणले यसमा डिलिङ गरिरहेको थियो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमै भैहरवा विमानस्थलमा आईएलएस सञ्चालन अनुमति दिएकोमा आभार व्यक्त गरेका थिए।

‘बोर्डरनजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अनुमति दिएको हामी भारतलाई कदर गर्न चाहान्छौं,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने,‘आईएलएस सञ्चालन अनुमतिले एरोनोटिकल इन्फोरमेसन पब्लिकेसन, सुरक्षा र हवाई उडानमा सहज हुनेछ।’

प्रधानमन्त्रीले महेन्द्रनगरबाट नयाँ हवाई रुटको विषयमा कुरा भएको र नयाँ विमानस्थल भैरहवा र पोखराका विमानस्थलबाट उडान गर्न सकिने जानकारी गराएका थिए।

दाहालअघि संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई थप हवाई रुट दिने विषय र आईएलएसको विषयमा चर्चै गर्न चाहेनन्।

प्रधानमन्त्रीको संयुक्त पत्रकारसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सार्वजनिक माध्यममै आईएलएस सञ्चालनको अनुमति पाएको दावी गरेका थिए।


संसद्‌मा प्रधानमन्त्रीले बोली फेरे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार भारत भ्रमणको विषयमा संसद्‌मा जानकारी गराएका छन्। प्रधानमन्त्री दाहालले आईएलएसको विषयमा छलफल भएको बताएका छन्।

‘हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई मार्ग र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लागि इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीको बारेमा सकरात्मक कुरा भए,’ उनले भने।

नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्लीसहित अन्य सहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकरात्मक छलफल भई नतिजाको नजिक पुगेको बताए।

नेपालले छलफल र सहमति नजिक भएको भन्ने विषयमा सांसदहरूले प्रश्न उठाएका छन्। स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले दुई पक्षले उल्लेख नगरेको कस्तो सहमति हो भनेर प्रश्न गरेका थिए।

‘नेपालले जारी गरेको प्रेसनोटमा दोस्रो हवाई प्रवेश विन्दुको विषयमा छलफल तथा सहमति भएको भन्ने उल्लेख छ,’ उनले भने, ‘शिशिर ‘भारतीय पक्षले उल्लेख नगरेको कस्तो सहमति हो?’


के हो आईएलएस? अनुमति पाउँदा नेपाललाई कस्तो फाइदा?
मौषम खराब हुँदा जहाज ल्यान्ड गर्न सकिने इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालनमा आउन नसक्दा नेपालले समस्या भोग्दै आएको छ।

हाल आईएलएस सञ्चालन गर्दा त्यसको सिग्नल भारतीय भूमिसम्म पुग्छ। गौतम बुद्ध विमानस्थलले त्यसको लागि सरकारमार्फत् भारतसँग विभिन्न चरणमा वार्ता गरे पनि टुङ्गिएको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा अवतरण गर्न नसक्ने जहाजले अब भैरहवामा अवतरण गर्नसक्ने दाबी गर्दै आएको थियो। तर भिजिबिलिटी कम हुँदा भैरहवामा अन्तर्राष्ट्रिय मात्रै नभई आन्तरिक उडानसमेत नियमित हुन रोकिएका थिए।

भिजिविलिटी कम हुँदा आईएलएस सञ्चालनमा नभएकाले भैरहवामा उडान गर्ने जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान नै बन्द गरेका थिए।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तराई क्षेत्रमा रहेकाले हिउँदको समयमा बढी हुस्सु लाग्छ। जसले आईएलएस बिना जहाजलाई नियमित अवतरण गर्न अप्ठेरो पर्छ।

हाल त्रिभुवन विमानस्थलमा भिजिबिलिटी (जहाजदेखि धावनमार्गको दूरी) कम हुँदा अवतरण गर्न नसकेका जहाज भारतका विभिन्न विमानस्थलमा डाइभर्ट भई अवतरण गर्दै आएका थिए।

भैरहवा विमानस्थल सञ्चालनमा आएसंगै काठमाडौंमा अवतरण गर्न नकसेका जहाज भैरहवा सहजरूपमै अवतरण गर्न सक्ने प्रधिकरणले दावी गर्दै आएको छ।

‘त्रिभुवन विमानस्थलमा आईएलएसको प्रयोगगरी १५ सय मिटरको भिजिविलिटी हुँदा जहाज अवतरण गर्न सक्छन्,’ प्राधिकरणमा उपमहानिर्देशक जगन्नाथ निरौलाले भने,‘गौतमबुद्ध विमानस्थलमा ८०० मिटर भिजिविलिटीमा जहाज अवतरण गर्न सक्छन्।’

साभार: नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.