२ भदौं विराटनगर : शनिबार विराटनगरस्थित होटल एशियाटिकमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुईवर्षे कार्यकालकालागि पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
अधिवक्ता नविनकुमार कार्की संयोजक र पत्रकार लक्ष्मी उप्रेती सदस्य रहेको निर्वाचन समितिले नेतृत्व सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । अधिवक्ता कार्कीका अनुसार वरिष्ठ उपाध्यक्षमा शेखरप्रसाद ढकाल, उपाध्यक्ष सजित तामाङ, महासचिव नवराज (नविन) खरेल,सचिवमा जीवन पराजुली, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद पौडेल चयन हुनुभएको छ । सदस्यहरूमा मनरथ सिल्वाल, धर्मराज शिवाकोटी, गौरव श्रेष्ठ र लक्ष्मण खड्का (गोपाल) रहनु भएको छ ।
निर्वाचित समिति सदस्य लक्ष्मी उप्रेतीले उहाँहरुको नाम घोषणा गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नाट्टा केन्द्रीय अध्यक्ष रमेश थापा, सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिहं, गण्डकी प्रदेश अध्यक्ष हरीराम अधिकारी, मधेश प्रदेश अध्यक्ष मोहन शर्मा, कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले सवैलाई प्रमाण पत्र प्रदान गदैं अविर टिका माला पहिर्याएर बधाई ज्ञापन गदैं कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
अध्यक्षमा निर्वाचित भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्घन र विकासमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्घता मन्तव्य व्यक्त गनुृभयो । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशमा प्रचार प्रसारको कारणले थुप्रै गन्तव्यहरू ओझेलमा परेका र यसको प्रवद्र्घन गर्दै पर्यटकीय गन्तव्यको रूपमा कोशी प्रदेशलाई अगाडी बढाएर लैजान नाट्टा र सरकार हातेमालो गरेर अघि बढ्ने उहाँले विचार राख्नुभयो । आर्थिक मन्दिका कारणले ट्राभल व्यवसाय धराशायी बन्दै गएको बताउँदै नवनिर्वाचित अध्यक्ष भट्टराईले राज्यले धरौटी लिने एक लाख रुपैयाँ हटाउनुपर्नेमा जोड दिनुभयो ।
‘निजीक्षेत्रको सहयोग बीना देशको अर्थतन्त्रको सुधार कल्पना नगरौं ’-मुख्यमन्त्री थापा
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले निजीक्षेत्रको सहयोग बिना देशको अर्थतन्त्रको सुधार कल्पना पनि गर्न नसकिने बताउनुभएको छ । शनिबार विराटनगरस्थित होटल एशियाटिकमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनको प्रमुख अतिथिका आसनबाट बोल्दैं मुख्यमन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । उहाँले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेश पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको प्रदेश रहेको पटक पटक दोहोर्याउनुभयो ।
कोशी प्रदेश प्राकृतिक, भौगोलिक, जैविक, धार्मिक एव्म साँस्कृतिकदृष्टिमा आफैंमा सम्पन्न प्रदेश भएको मुख्यमन्त्री थापाको भनाई थियो । ‘भौगोलिक विविधता अतुलनीय प्राकृतिक स्रोत, धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्पदाले धनी कोशी प्रदेशमा नेपालका अन्य प्रदेशभन्दा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना छ ।’ मुख्यमन्त्री थापाले भन्नुभयो । नेपालका आठहजार मिटरभन्दा माथिका ८ वटा हिमश्रृखलाहरुमध्ये सर्वोच्च शिखर सगरमाथालगायतका विश्वका पाँचवटा अग्ला हिमाल कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु कोशी प्रदेशमा पर्ने समरण गराउनुभयो । विश्वको सबैभन्दा अग्लो भू–भाग सगरमाथालगायत नेपालकै होचो भू–भाग केचनाकवल यहीँ अवस्थित छ मुख्यमन्त्री थापाले थप्नुभयो ।
‘कोशी प्रदेश पर्यटकहरुका लागि आर्कषणको मुख्य विन्दु हो ’मुख्यमन्त्री थापाले भन्नुभयो ‘अब आन्तरिक एवम् वाह्य पर्यटक भित्रियाउनसके कोशी प्रदेशले पर्यटनकोक्षेत्रमा फड्को मार्न सक्छ, सरकारले यो गरेन उ गरेन भनेर बढी समय आलोचनामा नखर्चिन आग्रह गदैं उहाँले हरेक पर्यटन व्यवसायीहरु नाफा कमाउनमात्र नभएर व्यवसायीकारुपमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि व्यवसायीले समेत केही रकम विनियोजन गरे तीनै तहका सरकारले समेत बाकी रकम लगानी गर्न तयार रहेको बताउनुभयो ।
मुख्यमन्त्री थापाले स्थानीय ठाउँका पर्यटकीयक्षेत्रको विकास गदैं पर्यटकलाई आर्कषित गर्नुपर्ने बताउनुभयो । प्रदेस सरकार पर्यटनको विकासका लागि लगानी गर्न तयार रहेको भन्दैं यसमा साथ दिन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । पर्यटनकाक्षेत्रमा लगानी नगर्ने व्यवसायी कुनै हालतमा पर्यटन व्यवसायी बन्न नसक्ने उहाँको तर्क थियो । नाममात्रैका पर्यटन व्यवसायीहरुले पर्यटकीयक्षेत्रको सुधार गर्न नसक्ने उहाँको दाबी थियो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै आफ्नो कार्यकालमा भए गरेका कामको प्रतिवेदन प्रस्तुत गर्नुभयो । महासचिव नवराज खरेल (नविन)ले सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद भट्टराईले स्वागत गरेको उद्घान सत्रमा बोल्ने अधिकाँश वक्ताहरुले कोशी प्रदेशमा सयौँ पर्यटकीय गन्तव्यहरू रहेपनि कतिपय गन्तव्यहरू चर्चामा पनि नआएको गुनासो गरे ।
कोशी प्रदेश पर्यटनको अथाह सम्भावना बोकेको प्रदेश भएपनि प्रचार प्रसार र अन्य भौतिक संरचना अभावका कारण संकटमा परेको उहाँहरुको भनाई थियो । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न पछिल्लो समय खासै गाह्रो नभएको र यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय सरकराले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्रियाउन सक्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रमको उद्घाटनसत्रमा विशिष्ट अतिथि नाट्टा केन्द्रीय अध्यक्ष रमेश थापा, सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिहं, गण्डकी प्रदेश अध्यक्ष हरीराम अधिकारी, मधेश प्रदेश अध्यक्ष मोहन शर्मा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिब सञ्जिवकुमार राई, नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य कृष्ण शाहा,बोर्डका निर्देशक सूर्य थपलिया, उद्योग बाणिज्य महासंघ हवाई तथा पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, हान कोशी प्रदेश अध्यक्ष राजन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, इथुवाका सचिव सन्दिपन घोषलगायतले बोल्नुभएको थियो ।

सल्लाहकारमा श्रेष्ठ र कार्की मनोनित
समितिको शनिवारनै बसेको पहिलो बैठकले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सल्लाहकार सदस्यमा उदयकुमार कार्की र भविशकुमार श्रेष्ठलाई मनोनयन गरेको महासचिव नवराज खरेल (नविन)ले जानकारी दिनुभयो । उहाँले बैकिङ्ग कारोवारकालागि बैक खाता सञ्चालनको प्रक्रिया समेत नयाँ समितिलाई हस्तान्तरण गरिएको बताउनुभयो । निवर्तमान अध्यक्ष श्रेष्ठले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई माइन्यूटलगायत अन्य कागजात हस्तान्तरण गर्नुभयो ।

























