निर्मल पुर्जा विश्वकै कीर्तिमानी आरोही हुन्। जसले सन् २०१९ मा सात महिनाको अवधिमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्वलाई चकित बनाएका थिए। उनले छोटो अवधिमा १४ वटा हिमाल आरोहणको विश्व कीर्तिमानसमेत कायम गरे।

उनै निर्मल र अन्य ९ जना नेपाली आरोहीहरुले फेरि असम्भव कुरालाई सम्भव बनाइदिएका छन्। इतिहासमा पहिलोपटक हिउँदे ऋतुमा १० जना नेपाली आरोहीहरु विश्वको दोस्रो ठूलो तथा कठिन मानिएको केटु हिमालको शिखरमा पुग्न सफल भएका छन्।
हिजो (शनिबार) साँझ ५ बजे ‘निम्स दाइ’ नामले चिनिएका निर्मल पुर्जा र मिङ्गमा ग्लाल्जे शेर्पाको टिमले केटु हिमालको सफल आरोहण गरेका थिए। आरोहण टिममा सोना शेर्पासमेत रहेका थिए।

विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये उनीहरुले १३ वटा हिमाल हिउँदेयाममा आरोहण गरिसकेका थिए। तर, केटु हिमालमा हिउँदका ऋतुमा हालसम्म कोही पुग्न सकेका थिएनन्।
पाकिस्तान तथा चीनको सीमानामा पर्ने केटु हिमाल ८ हजार ६ सय ११ मिटर उचाइको रहेको छ। यो हिमाललाई विश्वको खतरनाक हिमाल मानिन्छ। यो हिमाल चढ्न एकदमै कठिन भएको आरोहीहरु बताउँछन्। यो हिमालको पूर्वी मोहडाबाट हालसम्म कसैले आरोहण गर्न सकेको छैन।
राष्ट्रिय गीत गाउँदै पुगे चुचुरोमा
उल्लेखनीय प्रसंग के भने सबै आरोही शिखरभन्दा १० मिटर तल कुरेर एकसाथ नेपाली राष्ट्रिय गीत गाउँदै शिखरमा पुगेका थिए। मानवीय इतिहासमा सहकार्य, सामूहिक भावना तथा सकारात्मक सोचले असम्भव कुरा पनि सम्भव हुँदो रहेछ भन्ने उदाहरण यी आरोहीहरुले प्रदर्शन गरेका छन्। केटु हिमालमा प्राप्त भएको सफलतालाई सामूहिक भावनाको उदाहरणका रुपमा हेरिएको छ।
हिजो शिखरमा पुग्नेहरुमा निर्मल पुर्जासँगै मिङ्गमा डेभिड शेर्पा पनि थिए । उनले पनि ८ हजार मिटरभन्दा १४ वटा हिमाल चढिसकेका थिए। यो टोलीमा मिङ्गमा टेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा थिए। त्यसैगरी मिङ्गमा जीको टिममा दावा तन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सेभेन समिट ट्रेक्सकातर्फबाट सोना शेर्पा थिए।
यी आरोहीहरुले ७ हजार ८ सय मिटरको उचाइमा चौथो शिविरको निर्माण गरेका थिए। त्यहाँबाट शिखरसम्म जाने अभियानको निर्मल पुर्जाले नेतृत्व गरेका थिए। यसअघि ७ हजार ३ सय मिटरको उचाइमा शिविर खडा गरी ७ हजार ६ सय मिटर उचाइसम्म जाने बाटो ब्यवस्थापन गरिएको थियो। त्यतिबेला आरोहीहरुले प्रति ब्यक्ति ३५ किलोभन्दा बढी भारी बोकेर माथि उचाइमा जानका लागि तयारी गरेको निर्मल पुर्जाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।
अघिल्लो दिन मौसम राम्रो भए पनि भोलि खराब मौसम हुने उनले लेखेका थिए। तर मौसमलाई नै जित्दै यी आरोहीहरुले विश्व पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान राख्न सफल भएका छन्।
नेपाल पर्वतारोहण संघले नेपाली आरोहीहरुको यो अभुतपुर्व सफलताप्रति गौरव ब्यक्त गर्दै सफल आरोहीहरुलाई बधाई ज्ञापन गरेको छ।
पाकिस्तानको अनलाइन पोर्टल अरबन्युजले नेपाली आरोहीहरुले हिउँदमा दुर्लभ केटु हिमालको आरोहण गरेर ठूलो पुरस्कार जितेको उल्लेख गरेको छ।
हालसम्म आरोहण क्रममा कयौं आरोहीहरुले ज्यान गुमाइसकेको केटु हिमालमा शनिबारमात्रै आरोहणकै क्रममा स्पेनिश आरोही सर्गि मिंगोटेको निधन भएको थियो। तर, उनी नेपाली आरोहीहरुको टिममा थिएनन्।
हिउँदे ऋतुमा केटु हिमालमा ७ हजार मिटरभन्दा माथि उचाइमा पुगेका हिमाल आरोहण टोलीको सूची
१) सन १९८७/९८८ – पोलिस क्यानेडियन ब्रिटिस आरोहण अभियान -७ हजार ३०० मिटर
२) सन २००२/२००३- नेतिया के टु पोलिस हिउँदे आरोहण अभियान – ७ हजार ६ सय ५० मि
३) सन २०११/२०१२- रसियन आरोहण अभियान – ७ हजार २०० मिटर
४) सन २०१७/२०१८ -पोलिस राष्ट्रिय हिउँदे अभियान ७ हजार ६ सय मिटर
५) सन २०२०/२०२१ – नेपाली केटु हिउँदे आरोहण अभियान- ( संयुक्त) ८ हजार ६०० मिटर ( सफल )

























