नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, कसरी हुन्छ खोपको वितरण ?

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं  | भारतले आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन थालेको पाँचौ दिनमै नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । यो खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ ।

भारतको यो घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुकै लागि ‘सरप्राइज’ थियो ।

खोप खरिदको पूर्वतयारीमा जुटेको मन्त्रालयका अधिकारीहरुले अनुदानमा यति छिटो र यति धेरै मात्रामा खोप आउला भन्ने अनुमान गरेका थिएनन् । ‘भारतले नेपाललाई खोप दिँदैछ भन्ने संकेत मिलिसकेको थियो, तर अनुदानको खोप यति छिट्टै होला भन्ने लागेको थिएन’ एक अधिकारी भन्छन्, ‘जुनसुकै कारणले होस्, यति छिटो खोप पाउनु राम्रो सन्देश हो ।’

हुन पनि २९ पुसमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी स्वयंले कोरोनाको खोप ल्याउनु बजारबाट स्याउ खरिद गरे जस्तो नभएको अभिव्यक्ति दिएका थिए । ‘खोपको विषय अहिलेसम्म अन्योल छ, फागुन महिनामा चमत्कार हुनसक्छ’ उनको भनाइ थियो ।

उनको आशय फागुन महिनाभित्र नेपालमा कोभिड–१९ विरुद्धको खोप आउन सक्छ भन्ने थियो । तर माघको पहिलो साता नै भारतले अनुदानमा १० लाख डोज खोप दिएपछि स्वास्थ्यमन्त्री त्रिपाठीसमेत चकित परेका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ठट्यौली शैलीमा भने, ‘अस्ति पत्रकार सम्मेलनमा फागुनसम्म खोप आउन सक्छ भनेको थिएँ, माघमै आयो । मानिसहरुले मलाई गाली त नगर्लान् नि ।’

कसरी हुन्छ वितरण ?

सरकारले कोभ्याक्समार्फत पहिलो चरणमा आउने तीन प्रतिशत जनसंख्यालाई खोप आउने र त्यो खोप कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिने (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ) र सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सार्वजनिक क्षेत्रका कर्मचारीलाई दिने योजना बनाएको थियो । त्यसपछि ५५ वर्षभन्दाका दीर्घरोगी खोपको प्राथमिकता सूचीमा पर्नेछन् ।

तर त्योभन्दा अगाडि नै भारतले अनुदानमा खोप दियो, यो खोप अग्रपंक्तिमा खटिनेहरुको करिव ३ प्रतिशतलाई पुग्नेछ । भारतले दिएको खोप देशभर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिन पुग्ने स्वास्थ्य सेवा विभाग, खोप महाशाखाका प्रमुख डा. झलक गौतम बताउँछन् ।

उनकाअनुसार अहिलेसम्म खोप लगाउने फ्रन्टलाइनरको संख्या यकीन भइसकेको छैन । तर खोप उपलब्धताका आधारमा फ्रन्टलाइनरको समूह छुट्याउने तयारी छ । उनी भन्छन्, ‘१० लाख डोजले ३ प्रतिशत फ्रन्टलाइनरलाई दिन पुग्छ, हामी प्राथमिकताका आधारमा वितरण गर्छौं ।’

उनकाअनुसार स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा पर्नेछन् । त्यसपछि एम्बुलेस चालक र शववाहन चालक छन् । तेस्रो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ मजदुर पर्नेछन् । ‘शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी पनि तेस्रो प्राथमिकतामा पर्छन्’ डा. गौतमले भने, ‘फ्रन्टलाइनरलाई निजी र सरकारी भनेर छुट्याइएको छैन । प्राथमिकतामा पर्नेहरुलाई समान वितरण गरिन्छ ।’

यसरी छुट्याइएको प्राथमिकता समूहले खोप लगाएपछि बाँकी रहेमा दीर्घरोगी, सुरक्षाकर्मी र शैक्षिक संस्थामा कार्यरत फ्रन्टलाइनरलाई लगाउने सरकारको योजना छ । उनका अनुसार खोप संस्थागत रुपमा वितरण हुनेछ ।

स्वास्थ्य सेवा विभागले यसअघि नै स्वास्थ्य संस्थाहरुसँग फ्रन्टलाइनरको नामावली माग गरिसकेको छ । खोप अभियान सञ्चालनका लागि कुन समयमा कसले कहाँ खोप प्राप्त गर्ने विवरण समेटिएको सूची नै तयार भइरहेको छ ।

खोप वितरण कसरी हुन्छ ?

डाक्टर गौतमका अनुसार भोलि काठमाडौं आइपुग्ने खोप स्वास्थ्य सेवा विभाग, टेकुमा भण्डारण गरिनेछ ।

त्यसको एक साताभित्रमा वितरण गर्ने तयारी छ । ‘यो मितिमा खोप लगाउन पाइएला भन्न अहिले कठिन छ, किनकी केही प्राविधिक गडबडी भयो भने केही दिन ढिलो हुन्छ’ डा. गौतमले भने, ‘तर हामी छिट्टै खोप वितरण गर्छौं ।’

उनका अनुसार स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । प्रदेशबाट जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप वितरण गरिनेछ । हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने दक्ष जनशक्ति ८ हजार छन् । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनका तयारीका लागि मङ्गलबारदेखि प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।

१० लाख डोज खोप वितरण गन हाम्रो अहिलेकै स्रोत साधनले भ्याउँछ’ डा. गौतम भन्छन्, ‘प्राथमिकतामा परेकाहरुले खोप लगाउन छिट्टै पाउँछन् ।’

खोप अनुदान र भारत भ्रमण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतमा जानु र औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि खोप दर्ता गर्न आह्वान गर्नु संयोग नभएको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । मन्त्री ज्ञवालीको टोलीमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भएकाले खोपसम्बन्धी महत्वपूर्ण निर्णय हुने अनुमान थियो ।

मन्त्री ज्ञवाली भारत भ्रमणमा रहेकै बेला औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युटको खोप कोभिसिल्डलाई नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दियो । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले नेपाललाई खोप दिने ग्रिन सिग्नल दिएकाले कोभिसिल्डलाई आपतकालीन प्रयोगको अनुमति दिइएको थियो ।’

स्वास्थ्यमन्त्री त्रिपाठी पनि मन्त्री ज्ञवालीको भारत भ्रमणका क्रममा भएको पहलको कारण नेपालमा कोरोना खोप छिटो आउन लागेको बताउँछन् ।

साभार: अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.