सवारी लाइसेन्सको फारम भर्न अनलिमिटेड गरेपछि सिस्टमले धान्न छाड्यो, मध्यरातमा भर्न सुझाव

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं। यातायात कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को फारम जतिबेला पनि लिने भएपछि दिउँसो सिस्टम ह्याङ भएर अपलोड नै गर्न सकिँदैन।

त्यसमाथि पालो कहिले आउने भन्ने टुंगो छैन।

यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मध्यरातमा भर्न सुझाउँछन्।

विभागले आइतबारबाट अनलाइन आवेदन ‘अनलिमिटेड’ (जति पनि) बनाएको भएपनि हजारौं सेवाग्राहीले फाराम भर्न नपाएको भन्दै गुनासो गरेका छन्।

दिनमा सिस्टममा चाप परेको भन्दै मध्यरातमा भर्न उनले सुझाएका हुन्। अनलाइन आवेदन खुला गरिए पनि सिस्टम इरर देखाएर भर्न नपाएको गुनासो आम सर्वसाधारणको छ।

अनलिमिटेड बनाउँदा सिस्टमले भर्ने जति सबैको आवेदन लिने र परीक्षा (लिखित र प्रयोगात्मक) भने कार्यालयहरुको क्षमता अनुसार लिँदै जाने तयारी गरिएको छ।

कोरोना संक्रमण फैलन रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेका कारण लाइसेन्सको फाराम पनि बन्द भएको थियो। करिब ९ महिनापछि आवेदन खुलाइएका कारण भर्नेको चाप निकै रहेको भुषालले बताए।

विभागका अनुसार करिब ९ लाखले लाइसेन्स लिन चाहेका छन्। यही कारण सिस्टमा चाप परेर समस्या आएको हो। केही महिनामा चाप कम भएर समस्या हट्ने अपेक्षा गरिएको छ।

तत्कालै भर्न चाहनेहरुका लागि रातमा भर्न उनले सुझाएका हुन्।

‘सडकमा लाखौं सवारी एक साथ हिँडे के हुन्छ? जाम हुन्छ नी हैन। त्यही भएको हो तत्कालै भर्नु छ भने राति १२ बजेतिर भरिदिनुस् सहजै लिन्छ। हामीले समयसीमा पनि हटाइदिएका छौं। जति बेला पनि भर्न सकिन्छ,’ भुषालले भने,’ अहिले अवस्था यस्तै छ। म पनि भनेर अफिसबाट कि ४:३० बजेपछि निस्कन्छु कि ३:५० मै निस्कन्छु। चार बजे सबै अफिसहरु छुट्दा जाम हुन्छ।’

उनले यातायात सुधारको काम थालिएको दाबी गरे। ‘पहिले के थियो। थाहा छैन। अब सुधार भएर जान्छ,’ उनले भने, ‘पहिले भर्नै नदिएर गेट बाहिर राखिन्थ्यो। अहिले भर्न दिएर गेटभित्र ल्याएर बस्दै गर पालो आउँछ भनेर कुर्न लगाउँछौ। आज भरियो भने चार महिनापछि त पक्कै पालो आउँछ।’

लाइसेन्सको आवेदन अनलिमिटेड बनाए पनि परीक्षाका लागि लामो समय कुर्नुपर्ने बाध्यता भने नहट्ने भएको छ।

अनलाइन आवेदन दिनेहरुले कम्तीमा चार महिना कुर्नुपर्ने विभागका अधिकारीहरुले बताएका छन्।

‘पालो त कुर्नै पर्छ ब्याक लग धेरै छ। ट्रायल सेन्टर बनाउन चार पाँच महिना कम्तिमा लाग्छ। कानुनका संशोधन गर्नुपर्छ। फेरि प्रदेशको अधिकार क्षेत्रभित्र पर्छ। हामीले लाइसेन्सको आवेदन लिने र पास भएर आए प्रिन्ट गरेर दिने मात्रै गरेका छौं। बाँकी काम प्रदेशबाट हुन्छ,’ उनले भने।

सिस्टममा सुधार गरिए पनि ट्रायलका लागि पूर्वाधार निर्माणमा ध्यान दिइएको छैन। सुधार हुनुभन्दा पहिलेको सिस्टमले कार्यालयहरुको क्षमता अनुसार मात्रै आवेदन लिन्थ्यो।

आवेदन भरेपछि लिखित परीक्षाको मिति तोकिदिन्थ्यो। लिखित परीक्षा दिएपछि आवेदकले ट्रायलका लागि पनि समय पाउँथे। अब भने अनलाइन आवेदन दिएका सुरुका आवेदकबाट कार्यालयको क्षमता अनुसार परीक्षा संचालन गर्दै जाने योजना छ। क्रमसंख्याअनुसार परीक्षा लिँदै जाने भएकाले कम्तीमा चार महिना कुर्नुपर्ने भएको हो।

१४ लाख कार्ड ल्याउँदै
विभागले स्मार्ट लाइसेन्स छपाइका लागि १४ लाख स्मार्ट कार्ड खरिद सम्झौता गरिसकेको जनाएको छ।

सम्झौता नै भइसकेकाले २/३ महिनाभित्रै कार्डहरु आइपुग्ने भुषालले बताए। जसले करिब डेढ वर्षको मागलाइ धान्ने अपेक्षा गरिएको छ। ब्याकलग नहुँदा नर्मल अवस्था करिब ७ हजार लाइसेन्सको माग थियो। अहिले ९ महिना बन्द रहेका कारण माग बढेको छ।

विभागले पछिल्लो दुई वर्षमा करिब १० लाख कार्ड खरिद गरेको थियो। अब ६० हजार कार्डहरु मात्रै बाँकी छ। बाँकी सबै प्रिन्ट भइसकेका छन्। लकडाउनमा करिब ६ लाख कार्ड छापेर ब्याकलग सकेको विभागले जनाएको छ।

सरकारले ६० अंक ल्याए पास हुने गरि ट्रायल सजिलो बनाउन लागिएकाले दैनिक माग दोब्बरभन्दा बढी हुँदै जाने विभागका अधिकारीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.