श्रीमानको जन्मदिनको अवसरमा श्रीमतीको कृति लोकार्पण : स्रष्टा भट्टराईको तेस्रो कृति ‘प्रेमका पाँच औंला’ बजारमा

२४ साउन, मेचीनगर : झापाली स्रष्टा लेखक सुभद्रा भट्टराईको तेस्रो कृति ‘प्रेमका पाँच औंला’ बजारमा ल्याउनु भएको छ । विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकर कथा कवितालगायतका रचना लेख्ने नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्यसमेत रहनु भएका स्रष्टा भट्टराईले यसअघि ‘स्मृतिका डोबहरु २०७४’ र ‘भुइँफूल २०७८’ बजारमा आइसकेको छ । यी दुवै कृति भट्टराईका कवितासंग्रह हुन् । कृतिकार भट्टराई पेसाले शिक्षक हुन् ।

बिहीबार निबन्धकार एवम् नियात्राकार युवराज नयाँघरे र डा. शुकराज दियालीले संयुक्तरुपमा लोकार्पण गर्नुभएको उहाँको तेस्रो कृति ‘प्रेमका पाँच औंला’पनि कवितासंग्रह हो । संयोग पनि मिलेको कवि भट्टराईले आफ्नो जीवनसाथी दुर्गाराम अर्यालको जन्मदिनको अवसरमा उपहार स्वरुप तेस्रो कृतिका रुपमा ‘प्रेमका पाँच औंला’ बजारमा ल्याउनु भएको छ । कृति समेत उहाँ प्रति नै समर्पण गरिएको छ । कवि सुभद्राले उपस्थित सबै अतिथि तथा आफन्तजनलाई सम्मान व्यक्त गर्दै आफ्नो कृतिको एउटा कविता वाचन गरेपछि लोकार्पण कार्यक्रम प्रारम्भ भएको थियो ।

एकसय ४४ पृष्ट रहेको कवितासंग्रह ‘प्रेमका पाँच औंला’ को प्राध्यापक डा. गंगाराम अधिकारीलेसमीक्षा गर्नुभयो कृतिको समिक्षा गर्दै नेपाली कविताको नयाँ बान्की यो कवितामा रहेको र ‘सुदूर पूर्वको स्वाद यो संग्रहको मूल आधार रहेको समिक्षक डा. अधिकारीले त्यसक्रममा बताउनुभयो ।

साहित्यकार तेराख प्रतिष्ठानले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजना गरेको भट्टराईको तेस्रो कविता कृति ‘प्रेमका पाँच औंला’ लोकार्पण कार्यक्रममा प्रमुख अतिथि निबन्धकार नयाँघरेले स्थानीयता झल्किने काव्यिक स्वाद यी कविताले बोलेको स्पष्ट पार्नुभयो । ‘समाजबाट पर रहेको साहित्यले जनमनमा ठाउँ पाउँदैन,’ उहाँले सुनाउनुभयो ।

साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर —९, धुलाबारी झापा प्रकाशक रहेको ‘प्रेमका पाँच औंला’ कवि भट्टराईका सुख दुःखका जीवन साथी दुर्गाराम अर्याललाई समर्पण गरिएको छ । अर्याल भट्टराईका पति हुनुहुन्छ । लेखकमा सर्वाधिकार रहेको कृति को ‘प्रेमका पाँच औंला’ मा मान्छे, हृदय र प्रकृति तीन भागमा छुट्टा छुट्टै ५३ वटा उहाँका रचना पढन पाइन्छ, भने कविको व्यक्तिवृत पनि कृतिमा समावेश गरिएको छ । विभिन्न सञ्चारमाध्यममा आफ्ना लेख रचना प्रकाशित गर्दै आउनु भएका कवि भट्टराईका यो कृतिमा समावेह गरिएका कविताहरु अहिलेसम्म कहि कतै नछापिएका नवीनतम् हुन् । जीवनचक्रमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर समाजका मसिना पक्षको अध्ययन गरी आफूले कवितासंग्रह तयार पारेको स्रष्टा भट्टराईले बताउँनुभयो । चुलोचौका तथा विद्यालयको समयबाट बचेको राती र दिउँसोको समय खर्चेर फुर्सद निकालेर करीव छ महिनाको अवधिमा यी कविता लेखिएका छन् । अधिकाँश रचना रत्रिकालिन लेखिएका छन् ।

कसरी बिताउँछन् होला शासकहरुले

दिनु रात र समय

म देख्दिन गति लिएको देशले

देशलाई दाउमा राखेर

चलाउँदैंछन् राज्य सत्तामा बस्नेले

आफ्नो गुजरा

जोड्दैछन् देश बेचेर

अकुत सम्पति

न दृष्टि छ, न सोच

उनीहरु त उकालो चढ्न छोडेर

ओरालो झार्दैछन्

आमा समानको देश

मान्छे खण्डको ‘सपनाको एक तह’ शीर्षकको कविताको एक अंश हो । यहि कविताबाट प्रारम्भ भएर प्रकृति खण्डको ‘जूनको गुनासो ’शीर्षकको कविताबाट अन्त्य भएको छ कृतिमा समावेश गरिएका कविताहरु । उहाँका कविता देशभक्तिप्रति ओतप्रोत छन् । प्रकृति मात्र बोल्दैं कोभिडका बखत आएका समाचारदेखि देश र नक्शा देखाइएको छ । कवितालाई जीवनको अर्काे नाम मात्र नभएर उसँगको आफ्नो हृदयको नाता अत्यन्तै पुरानो ठान्ने कवि भट्टराईकै भनाईमा ‘मेरा लागि कविता एउटा मल्हम हो, ओखती हो, उपचार हो । हृदय विद्रोहको उरालधुराल हुनासाथ म कविताको लयमा जोडिन्थेँ । यसो गर्दा म भित्रको विद्रोहको लप्काले सहज जीवन पाएको अनुभूति गर्थेँ । ’ शायद यो माथिको कविताले पनि विद्रोह नै बोलेको होला । हरेक कविताले विभिन्न विषयको उजागर गरेका छन् । उहाँका रचनाले समाज बदल्न खोजेका छन् ,देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता महसुश गराएका छन ।

मेचीवारी र मेचीपारीका थुप्रै स्रष्टा तथा साहित्यअनुरागीहरूले खचाखच भएको कृति लोकार्पण स्थलमा प्रमुख अतिथि प्रसिद्ध निवन्धकार नयाँघरेले भट्टराईको कृतिभित्रको एउटा कविता वाचन गरेपछि कार्यक्रम स्थलमा साहित्यीक माहोल तातेको थियो । त्यसबाट कविगोष्ठी सुरु भयो । पुण्य बराल, गणेश निरौला, विवश बलिभद्र कोइराला, जय आचार्य, लतिका जोशी, टंक विकल्प, तुलसीप्रसाद भट्टराई, विरही अधिकारी, जेबी खत्री, शारदा कार्की, अमृता पाठक चौंलागाईं, चित्रा पौडेल, पुष्प काफ्ले, सुशान्त नन्दी, राहुल राई, ललिता जोशी, सेजल दाहाल तथा आकृति दाहाललगायत वारीका झापा मोरङ सुनसरीसम्म र पारी ‐पश्चिम बंगालदेखि आसाम राज्य) सिलीगुढी, खर्साङ्ग, देखि आसाम मणिपुरसम्मका कवि कवियत्रीहरुलेआ—आफ्ना रचना सुनाउनुभयो । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय भण्डारी र सहभागी स्वदेशी एवम् विदेशी पाहुनाहरु सवैलाई शब्दमार्फत प्रतिष्ठानका सदस्य मुना रानाले स्वागत गर्नुभएको थियो । साहित्यिक समारोहमा लतिका जोशी, निशिकान्त दास, शिवकुमार पौडेल, जय भण्डारीलगायतले आ—आफ्ना धारणा राख्नुभयो ।

कार्यक्रमका अवसरमा कवि भट्टराईका गुरु दिलीप अधिकारीलाई सम्मान गरियो । कवि भट्टराई दम्पति मिलेर जन्म र कर्मदिने आमाहरुलाई सम्मान गर्नुभयो । सहभागी सवैले सुभद्रा र दुर्गारामलाई मञ्चको अग्रभागमा राखेरमा फूलको गुच्छा प्रदान गर्दै जन्मदिनको अवसरमा शुभकामना दिएका थिए ।

आख्यानकार पुण्यप्रसाद खरेल, वरिष्ठ पत्रकार एवम् गीतकार चन्द्र भण्डारी, डा.शुकराज दियाली , संविधान सभासदस्य रविन कोइराला, काँकरभिट्टा, बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, राहुल राइ,निशिकान्त सिन्हा, मुक्ति उपाध्याय बराल, देविका सुब्बा खवास, काँकरभिट्टा खानेपानी यपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, तेराख प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, काँकरभिट्टा मा.वि.का पूर्वप्रअ दिलिप अधिकारी, साहित्यकार राम कट्टेल, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौलालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.