आज राजवंशी समुदायमा दधिकादोको रौनक : पछिल्लो समय लोप हुँदैं गएकोमा चिन्ता

A notice in Nepali from Mechinagar Ward No. 10

११ भदौ मेचीनगर : दधिकादो पर्व नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउदै आएको धार्मिक एवम् साँस्कृतिक पर्व हो । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजवंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने किंवदन्ती रहि आएको छ ।

झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकादो पर्व मनाउँछन । दधिकादो खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

राजवंशी समुदायले कृष्ण मन्दिरहरूमा कृष्ण अष्टमीका दिन रातभर भजन किर्तन गरी जाग्राम गरेर त्यसको भोलीपल्ट दधिकादो पर्वको अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन् ।

झापा जिल्लाका राजवंशी मुदायका मानिसहरूले विभिन्न कार्यक्रमको आयोजना गरी दधिकादो पर्व मनाएका छन । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट वा नवमीका दिन राजवंशी समुदायले यो पर्व मनाउदै आएका छन । दधिकादो पर्व झापाको गौरादह, खजुरगाछी, शिवगञ्ज, दुवागढी तथा मेचीनगर नगरपालिका लगायतका स्थानमा बसोबास गर्दै आएका राजवंशी समुदायले मनाउने गरेका छन् ।

राजवंशी समुदायले भजन किर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुद लगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाउँने गरेको झापाका अग्रज सञ्चारकर्मी इन्द्रसिहं राजवंशीको भनाई छ ।

खासगरि दधिकादो भनेको दहीको हिलो भने पनि दही नपाएका कारण माटोको हिलो बनाई एक अर्कामा छ्याप्दै रमाउने गर्ने गरेको बताइन्छ । त्यही हिलोमा एउटा नरिवल राखिन्छ । दुईवटा समुह बनाइएको हुन्छ । एक समुह कृष्ण मन्दिरमा नरिवल चढाउन जान्छ तर अर्को समुहले रोकावट गर्दछ र यही बेलामा निकै घम्साघम्सी चल्छ ।

यही पर्वको अवसर पारेर धेरै ठाउँहरूमा राजवंशी समुदायले कृष्ण मन्दिरहरूमा कृष्णअष्टमीका दिन रातभर भजन किर्तन गरी जाग्राम गरेर त्यसको भोलीपल्ट दधिकादो पर्वको अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन । कृष्ण जन्मअष्टमीको भोलिपल्ट राजवंशी समुदायले मनाउने दधिकादो पर्व मंगलबार जिल्लाका विभिन्न ठाउँमा राजवंशी समुदायले धुमधाम मनाउने गरेका छन् ।

दधिकादो पर्वलाई राजवंशी समुदायले आफ्नो पहिचान बोकेको मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजवंशी समुदायका नागरिकले हरेक वर्ष कृष्णअष्टमीको एक दिनपछि नवमीका दिन धुमधामसँग दधिकादो पर्व मनाउने मेचीनगरका हिरामोहन राजवंशी बताउनुहुन्छ ।

भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजवंशी समुदायले एक–अर्कामा खुशी साटासाट गरी मनाउने दधिकादोको रौनक निक्कै राम्रो हुन्छ । हिलोमा दही हालेर यो पर्व मनाउने गरिन्छ । दधिकादो भनेको दहीको हिलो भनिए पनि दही नपाएका कारण माटोको हिलो बनाई एक अर्कामा छयाप्दै रमाउनु हो । सोही अवसरमा पूर्वका झापा, मोरङ र सुनसरीमा विभिन्न कार्यक्रम सञ्चालन हुने झापा ज्यामिरगढीका तिरनाथ राजवंशीको भनाई छ ।

राजवंशी समाज सेवा समिति मेचीनगर—२ नगरडुब्बाले प्रतियोगितात्मक दधिकादो सहित अन्य प्रतियोगितात्मक खेलहरु आयोजना गदैं आएको छ । बासकाद, कलकाद, दोदलुङकाद र ढुलानिकाद गरी चार प्रकारका दधिकादो हुने राजवंशी समुदायका अगुवा जीतनराज राजवंशीको भनाई छ ।

यसैगरी मेचीनगर—१२ इटाभट्टाका स्थानीय राजवंशी समुदायका युवाहरुले स्वतस्फूत सामुहिक रुपमा दधिकादो मनाउने गरेका छन् । हिलोमा विभिन्न खेलको आयोजना गर्ने, तेल दलेको बाँसमा चढेर पुरस्कार जित्नेलगायतका प्रतियोगितात्मक कार्यक्रम यहाँ आयोजना हुने गरेको छ ।

दधिकादो पर्व राजवंशी समुदायको बसोबास रहेको क्षेत्रमा धुमधाम मनाइने मोतीलाल राजवंशी बताउनुहुन्छ । झापाका दक्षिणी गाविस तथा मोरङ्ग र सुनसरी जिल्लामा राजवंशी समुदायको उल्लेख्य बसोबास छ । तर, अहिले यो पर्व लोप हुने अवस्थामा पुग्न लागेको भन्दैं राजवंशी अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । केहिवर्षअघिसम्म हेर्नेहरुको भीड थामी नसक्नु हुन्थ्यो । तर, अहिले दधिकादोको रौनक देखिन छाडेको उनीहरुको भनाई छ । मेचीनगरमा सक्रिय युवाको पहलमा अहिलेसम्म जसोतसो यो पर्वले निरन्तरता पाइरहेको हिरामोहन राजवंशीले बताउनुहुन्छ ।

स्थानीय युवा शिवलाल राजवंशीले अन्य समुदायको बाहुल्य र नयाँ पिढी आधुनिकतामा रमाउन थालेपछि संस्कृति लोप हुन लागेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

राजवंशी समुदायका धेरै युवा विदेशिएकाले पर्वको उल्लास हराएको धाइजनका हरेकृष्ण राजवंशी बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘गरिबीकै कारण यो पर्व हराउने अवस्थामा पुगेको हो ।’ झापा मेचीनगर–६ काँकरभिट्टाका हरि राजवंंशीले पनि राजवंशी युवा विदेशिएका कारण यो पर्व लोप हुने अवस्थामा पुगेको धारणा राख्नुभयो ।

बेरोजगारीको समस्यासँगै युवायुवती वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढेकाले पनि दधिकादो पर्व ओझेलमा परेको बताउनुहुन्छ सञ्चारकर्मी सुष्मा राजवंशी । बुढापाका गर्न नसक्ने र युवापुस्ता गाउँ नै छाडेर गएकाले यो पर्वले निरन्तरता पाउन नसकेको उहाँको भनाई छ ।

देशका विभिन्न भागमा बस्दै आएका विभिन्न समुदायले आ–आफ्ना लोक–संस्कृति मान्दै आइरहेका बखत राजवंशी समुदायले पनि दधिकादो खेलपर्वलाई महत्वपूर्ण लोक–संस्कृतिका रुपमा लिइने गरेको ६७ बर्षिया सुखनीदेवि राजवंशी बताउनुहुन्छ । मौलिक संस्कृति झल्काउने दधिकादो खेल पर्व संरक्षण गर्न स्थानीयस्तरबाटै पहल गरिनु पर्ने र अन्य पर्व जस्तै प्रचार प्रसार गर्नुपर्नेमा राजवंशी समाज विकास समिति झापाको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.