झापा । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफू चढ्ने गाडी प्रहरीलाई दिएका छन्।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले आफूले चढ्ने बुलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदय शम्सेर जबरालाई जिम्मा दिएका हुन्। शुक्रबार(आज) एक कार्यक्रमको आयोजना गरेर प्रमुख पोखरेलले उक्त गाडी प्रहरीलाई दिएका हुन्।
नगरप्रमुख पोखरेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा जनताको सुरक्षा बढी हुने भएकोले गाडी प्रहरीलाई दिएको बताए। मेयर पोखरेलले यस अघि समेत गाडी किन्न छुट्टाएको ५० लाख रुपैँया रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।
प्रहरीले गाडी पाएपछि जनताको सुरक्षाका लागि आफूहरुलाई सहज भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख जबराले बताए। कनकाई नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधि आएपछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन।
























