विराटनगर : नेपाल–भारत सीमा नाकामा कडाइ गरिएपछि भारतबाट आयात हुने खाद्यान्नको परिमाण बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालय हुँदै खाद्यान्नको आयात गत आर्थिक वर्षको तुलनामा बढेको हो।
भन्सार कार्यालयको अर्ध वार्षिक तथ्यांकमा चालु आर्थिक वर्षमा गहुँ, मकै, धान र चामलको आयात बढेको छ। कोरोना संक्रमणका कारण खुला सीमा क्षेत्रका नाका बन्द हुँदा यसको प्रभाव भन्सार केन्द्रित आयातमा परेको हो।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विराटनगर नाका हुँदै तीन करोड १७ लाख रुपैयाँ बराबरको नौ हजार ५४४ मेट्रिक टन गहुँ आयात भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा गहुँ आयात करिब चार गुणाले बढेको छ। यस वर्ष एक अर्ब १९ करोड ६२ लाख रुपैयाँ ३६ हजार ८५३ मेट्रिक टन गहुँ आयात भएको तथ्यांकमा उल्लेख छ।
यस्तै, गत आर्थिक वर्षको पहिलो ६ महिनामा विराटनगर नाका हुँदै एक अर्ब १३ करोड १० लाख रुपैयाँको २९ हजार ५११ मेट्रिक टन मकै आयात भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ९७ करोड २७ लाख रुपैयाँ बराबरको एक लाख १७ हजार ६१८ मेट्रिक टन मकै आयात भएको छ। मदिरा उद्योगहरूले अल्कोहल उत्पादनका लागि कनिकाको सट्टा मकै प्रयोग गर्न थालेपछि मकैको आयात बढ्नेको बताइएको छ।
धान आयात पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब ३३ करोड ३२ लाख रुपैयाँ बराबरको ३८ हजार ४५२ मेट्रिक टन धान आयात भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब १० करोड २७ लाख रुपैयाँ बराबरको ४० हजार २११ मेट्रिक टन धान आयात भएको छ। भारतमा धानको उत्पादनमा वृद्धि भएर गत आर्थिक वर्षको भन्दा मूल्य सस्तो भएकाले आयातको परिमाण बढे पनि मूल्यमा भने बढेको छैन।
विराटनगर नाकाबाट चामल आयात पनि बढेको छ। गत आर्थिक वर्षको ६ महिनामा ७३ करोड ३० लाख रुपैयाँ बराबरको १६ हजार ८३३ मेट्रिक टन चालम आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बराबरको ३० हजार ८६४ मेट्रिक टन आयत भएको छ।

























