मेचीनगर, फागुन १५ : प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण र पद हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। फागुन ७ गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत निर्वाचित पदाधिकारीहरूलाई बिहीबार एक विशेष समारोहबीच प्रमाणपत्र प्रदान गरिएको थियो।
नयाँ कार्यसमितिमा अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष खगेन्द्र घिमिरे, महिला उपाध्यक्ष मनिषा गौतम, सचिव प्रविण अधिकारी, सहसचिव नवराज सुवेदी, कोषाध्यक्ष दिलीप थापा तथा सदस्यहरू सुजन प्रधान, भोला तिम्सिना, पुष्कर गुरागाईं र सेवन्ता घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र विशेष अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले निर्वाचन समितिले जारी गरेका प्रमाणपत्र हस्तान्तरण गरे। साथै, निवर्तमान अध्यक्ष डम्बर बरालले नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेललाई पदभार हस्तान्तरण गर्दै क्लबका महत्त्वपूर्ण कागजात, माइनुट तथा कार्यालयको चावी प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शर्माले पत्रकारितालाई सकारात्मक र उत्तरदायी बनाउन आग्रह गरे। उनले संचारमाध्यमले निराशाजनक समाचार मात्र नभई सकारात्मक तथा सुधारमुखी सामग्री पनि सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, शर्माले संसदमा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पास हुन नहुने बताए। उनका अनुसार फेसबुक लगायत सामाजिक सञ्जालमा जथाभावी लेख्ने छुट कसैलाई पनि नभए पनि त्यसलाई नियन्त्रण गर्नुपूर्व विधेयकमा आवश्यक संशोधन आवश्यक रहेको उल्लेख गरे।
महामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नहटाउन सरकारलाई आग्रह गरे। ‘सरकार कर्म गर्नतिर लागोस्, केवल कर्मचारी हटाउनेतिर होइन,’ भन्दै उनले कुलमानको कार्यकाल बाँकी रहेको र उनलाई हटाउनु अनुचित हुने बताए।
हालै भारतको उडीसामा नेपाली विद्यार्थीहरूमाथि भएका घटनालाई लिएर शर्माले विदेशीसँग सिधा संवाद गर्न सक्ने नेपाल टावर गठन गर्न आवश्यक रहेको बताए। उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लोकतन्त्रलाई थप सुदृढ बनाउन प्रणालीगत सुधार आवश्यक रहेको बताए। कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकी, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, पत्रकार महासंघ कोसी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्ष मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल लगायतले नवनिर्वाचित टोलीलाई शुभकामना व्यक्त गरे।
निर्वाचन समिति संयोजक ज्ञानेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन निर्वाचन समितिका सदस्य प्रकाश उप्रेतीले गरेका थिए। नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेलले आगामी कार्यकालका योजनाहरू प्रस्तुत गर्दै पत्रकारिताको विकास र सुधारमा प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।


















