७ जेठ,काठमाडौं : नेपाल राष्ट्र बैंकले झण्डै डेढ महिनाको प्रतीक्षापछि नयाँ गभर्नर पाएको छ। डा. विश्व पौडेल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त भ का छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेलको नाममा सहमति जनाएको हो।
यसअघि रिक्त रहेको यो पदमा सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो। तीमध्ये शीर्ष स्थानमा रहेर पौडेलले गभर्नरको कुर्सी पक्का गरेका हुन्। बाँकी सूचीमा निलम ढुंगाना र दिनेश भट्टराई थिए। चैत २४ देखि गभर्नर पद खाली रहँदा डेपुटी गभर्नर निलम ढुंगानाले कार्यबाहकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
राजनीतिक पहुँच र प्राविधिक पृष्ठभूमि बोकेका पौडेल
विश्व पौडेलको नाम राजनीतिक वृत्त र अर्थनीतिक क्षेत्रमा नौलो होइन। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिन्छन्। २०७८ सालमा देउवा प्रधानमन्त्री बनेपछि उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो।
तर, राजनीतिक पहुँच मात्र हैन—पौडेलसँग प्राविधिक क्षमता पनि छ। चितवन स्थायी घर भएका उनले चीनबाट इन्जिनियरिङमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरेका छन्।
गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नरको दौडमा
सबैभन्दा रोचक पक्ष के छ भने—पौडेल स्वयं केही समय अघि गभर्नर सिफारिस समितिका सदस्य थिए। तर, सम्भावना देखिएपछि उनले नै सदस्य पदबाट राजीनामा दिँदै गभर्नर बन्ने दौड सुरु गरे र अन्ततः त्यही दौड जित्न सफल भए।
अबको चुनौती : अस्थिर अर्थतन्त्रमा स्थायित्व
नेपालको अर्थतन्त्र अहिले अस्थिरतासँग जुधिरहेको छ—विदेशी मुद्रा सञ्चितिमा दबाव, आयात–निर्यात असन्तुलन, बजारमा तरलता समस्यालगायत थुप्रै चुनौती छन्। अब यी सबैलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी पौडेलको काँधमा आएको छ।
अब हेर्न बाँकी छ—राजनीतिक आशीर्वाद र प्राविधिक अनुभवको सम्मिलनले उनी सफल गभर्नर बन्न सक्छन् त?

























