२२ जेठ, काठमाडौं: हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफा आकाश रहने पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशका केही स्थान, पहाडी भू-भागका थोरै र अन्य भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, उच्च–पहाडी र हिमाली भेगका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।
आज रातिसमेत कोशी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै उच्च पहाडी र हिमाली क्षेत्रमा आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।

























