काठमाडौँ, जेठ २३: काभ्रेमा पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा गैरकानुनी रूपमा छुट दिएको र उक्त जग्गा पछि बढी मूल्यमा बिक्री गरेर ठूलो रकमको चलखेल गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। तर, यस प्रकरणमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका संरक्षक स्वामी रामदेव, अध्यक्ष आचार्य बालकृष्ण, सदस्यहरू राजेन्द्र दास र राजेन्द्र सिंहमाथि भने भ्रष्टाचार मुद्दा चलाइएको छैन। यसको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुलाएको छ।
शालिग्राम सिंहमाथि मात्र मुद्दा चलाउनुको कारण:
अख्तियारको अनुसन्धानले पतञ्जलि योगपीठका नेपाली सञ्चालक शालिग्राम सिंहलाई मात्र यस प्रकरणमा जिम्मेवार ठहर गरेको छ। कम्पनी दर्तादेखि जग्गा खरिदबिक्रीसम्मको सम्पूर्ण कार्यमा उनले नै मुख्य भूमिका खेलेको अख्तियारको निष्कर्ष छ।
- कम्पनी दर्ता र अख्तियारी: पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल वि.सं. २०६४ असोज २० गते कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा मुनाफारहित कम्पनीका रूपमा दर्ता भएको थियो (दर्ता नं. ८४।०६४।६५)। कम्पनी ऐन, २०६३ को दफा १६६ को उपदफा (३) अनुसार, कम्तीमा पाँच संस्थापक हुनुपर्ने प्रावधानअनुसार स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास, राजेन्द्र सिंह (सबै भारतीय नागरिक) र शालिग्राम सिंह (नेपाली नागरिक) मिलेर यो कम्पनी स्थापना गरेका थिए।
- सर्वाधिकार शालिग्रामलाई: वि.सं. २०६४ असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले आन्तरिक राजस्व कार्यालयबाट कम्पनीको स्थायी लेखा नम्बर (प्यान), मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गरी प्रमाणपत्र लिनेसम्मको सम्पूर्ण काम कारबाही गर्न कम्पनीका सञ्चालक शालिग्राम सिंहलाई अख्तियारवाला नियुक्त गरेको थियो। उनले आफू वा अन्यलाई अख्तियार दिई कानुनबमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्नका लागि अख्तियारवाला नियुक्त गर्ने निर्णय भएको थियो।
- जग्गा खरिद र व्यवस्थापनको अख्तियारी: त्यसै वर्षको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीको नाममा आश्रमस्थल निर्माण तथा अन्य कार्यको लागि चल–अचल सम्पत्ति खरिद गर्ने, चल–अचल सम्पत्ति खरिद बिक्री, रजिस्ट्रेशन, नामसारी लगायतको सम्पूर्ण काम कारबाही गर्न पनि शालिग्राम सिंहलाई नै अख्तियार दिने निर्णय भएको थियो। यो काम गर्दा उनले आफू वा अन्यलाई अख्तियारी दिन सक्ने निर्णय पनि भएको थियो। यस्तै, धितो राख्ने, बैंकबाट कर्जा लिने र बैंकसम्बन्धी सम्पूर्ण काम कारबाही गर्न पनि सञ्चालक समितिले शालिग्राम सिंहलाई नै अख्तियारी दिएको देखिन्छ।
- बयान र स्वीकारोक्ति: शालिग्राम सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कम्पनी दर्ता गर्दादेखि हदभन्दा बढी जग्गा खरिद बिक्री गर्न गराउन मुख्य भूमिका खेलेको स्वीकार गरेका छन्। यसका लागि सम्बन्धित निकाय/कार्यालयमा निवेदन दिनेदेखि उक्त कार्य सम्पन्न नहुँदासम्मको सम्पूर्ण कार्य आफू स्वयं तथा आफूले खटाएका व्यक्तिहरूमार्फत गरेको बताएका छन्। कम्पनीको वासलात तयार गर्ने गराउने कार्य आफैँ गरेको पनि उनले बयानमा भनेका छन्। कम्पनीको नाममा आएको रकमको व्यवस्था गर्ने, निजी प्रयोग प्रचलनमा ल्याउने र नेपालमा रही पतञ्जलि योगपीठको सम्पूर्ण कार्य आफैँले गरेको र मौखिक तथा अनौपचारिक जानकारीसम्म संस्थापक सदस्यहरूलाई गराएको भनेर उनले खुलाएका छन्।
अख्तियारको निष्कर्ष र रामदेव लगायतलाई उन्मुक्ति:
यसैकारण यस प्रकरणमा पतञ्जलिका तर्फबाट सम्पूर्ण रूपमा शालिग्राम सिंह नै जिम्मेवार हुने अख्तियारको निष्कर्ष छ। अख्तियारको निर्णयमा लेखिएको छ, “यस विषयमा हेर्दा हालसम्म संकलित प्रमाण कागजातबाट शंकितहरू स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिहंसमेत स्वयं उपस्थित रही उल्लिखित कार्य गरेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको, उक्त कार्य गरे गराएबाट निजहरूले लाभ लिएको तथ्य स्थापित हुने प्रमाणको अभाव रहेको र उक्त कम्पनी तथा कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंहले निज संस्थापक सदस्यहरूको नाम तथा प्रतिष्ठाको प्रयोग गरे गराएको देखिएकोबाट निज स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिहंसमेत माथि विवेचना गरे बमोजिमको प्रस्तुत भ्रष्टाचारजन्य कसुर अपराधमा संलग्न रहेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको हुँदा पछि थप प्रमाण प्राप्त भएमा सोही बखत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५९ (ग) र मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ३५ लगायतको प्रचलित कानुनबमोजिम हुने नै हुँदा हाल निजहरूको हकमा केही गरिराख्न परेन।”
यसको अर्थ, अख्तियारले पर्याप्त प्रमाण नभएकाले हाललाई उनीहरूलाई मुद्दा चलाएको छैन, तर भविष्यमा थप प्रमाण फेला परेमा कानुनबमोजिम कारबाही अघि बढाउन सकिने ढोका खुला राखेको छ।

















