बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी: ३५ पसल नष्ट, रु ८ करोड ७७ लाख बढीको क्षति

काठमाडौँ, जेठ २४: बाजुराको बुढीगङ्गा नगरपालिका–६, बाम्का बजारस्थित नवदुर्गा होटलमा शुक्रबार (हिजो) दिउँसो ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा कम्तीमा ३५ वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। यस घटनाबाट कुल ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार, आगलागीबाट बाम्का बजारका अधिकांश पसल पूरै जलेर सखाप भएका छन्। प्रहरीले संकलन गरेको तथ्यांकअनुसार, सबैभन्दा बढी क्षति योगनाथ न्यौपानेको किनारा पसललाई भएको छ, जसको करिब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ।

यसैगरी, आगलागीबाट तोयानाथ न्यौपानेको १ करोड ५० लाख रुपैयाँ, छत्र थापाको १ करोड ५० लाख रुपैयाँ र धनबहादुर साउदको १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण प्रहरीले संकलन गरेको छ। यस्तै, दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाका पसलहरूको क्षतिको मूल्य भने अझै खुल्न सकेको छैन।

प्रहरी निरीक्षक चौधरीका अनुसार, जलेर नष्ट भएका पसलहरूमा फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक पसल, पुस्तक पसल र होटलहरू रहेका छन्। आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ।


दमकल नहुँदा ठूलो क्षति, पीडितले मागे राहत:

शुक्रबार अपराह्न ३:३० बजे ग्यास सिलिन्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नि नियन्त्रणका लागि दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरूले गुनासो गरेका छन्। पीडित छत्र थापाले “स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो” भन्दै दुःख व्यक्त गरे।

आगलागीबाट पीडितहरूको तथ्यांक संकलन गरी उनीहरूलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।

सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आगलागी प्रभावित क्षेत्रमा पुगेका छन्। उनको निजी सचिवालयले जनाएअनुसार, मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र पीडितहरूका गुनासा सुन्नका लागि प्रभावित क्षेत्रको भ्रमण गरेका हुन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.