२८ जेठ, काठमाडौं : यस वर्ष नेपालमा मनसुन औसतभन्दा १५ दिन अघि, अर्थात् जेठ १५ गते कोशी प्रदेशबाट प्रवेश गर्यो। तर, आशाजनक सुरुवातपछि अब मनसुनी प्रणाली कोशीबाटै फर्किएको छ। मौसमविद्हरूका अनुसार, पूर्वी एसिया—विशेषगरी फिलिपिन्सतर्फ विकसित भएको बलियो न्यूनचापीय क्षेत्रका कारण मनसुनी वायु सो क्षेत्रतर्फ तानिँदा नेपालमा फैलिन सकेन।
पूर्वमै रोकियो मनसुन
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसियातिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन। अझै केही दिन मनसुन फैलिने सम्भावना छैन।” उनका अनुसार नेपालमा मनसुनी वायु बङ्गालको खाडीबाट प्रवेश गर्छ। यस वर्ष बङ्गालको खाडीबाट आएको वायु कमजोर देखिएको छ, जसले देशभर गर्मी अत्यधिक बढाएको छ।
मनसुन प्रवेशसँगै जेठ १७ गते पूर्वी नेपालमा भारी वर्षा भएको थियो। धरान–धनकुटा सडकखण्डको फेदीमा लेउती खोलाले १०० मिटर सडक बगायो भने झापामा माइ खोलाको बाढीले २२ घर डुबाएको थियो। तर, त्यसयता कुनै उल्लेखनीय वर्षा भएको छैन।
‘ब्रेक’ मोडमा मनसुन, खडेरी र अतिवर्षाको जोखिम
मौसमविद् झाका अनुसार हाल पश्चिमी तथा मध्य क्षेत्रतर्फ स्थानीय र पश्चिमी वायु सक्रिय छन्, जसले मनसुनी प्रणालीलाई अवरुद्ध गरेको हो। “यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केत होइन,” उनी भन्छन्, “यसले कतै खडेरी र कतै भारी वर्षाको सम्भावना निम्त्याउन सक्छ।”
जल तथा मौसम विज्ञान विभागले यस वर्ष अत्यधिक वर्षा र गर्मी दुवैको पूर्वानुमान गरिसकेको छ। त्यसै अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले विपद् प्रतिकार्य योजना लागू गरिसकेको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार, “करिब २० लाख मानिस प्रभावित हुने र तीमध्ये १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने हिसाबले तयारी भइरहेको छ।”
अब फेरि बदलिने संकेत
मौसमविद् झाका अनुसार भोलिदेखि देशका विभिन्न भागमा फेरि बादल लाग्ने र केही स्थानमा वर्षा सुरु हुने सम्भावना छ। अहिले बङ्गालको खाडी र भारतको मध्यभूभागमा नयाँ न्यून चापीय प्रणाली निर्माण भइरहेकाले त्यसको असर नेपालमा देखिन थाल्नेछ।
तर, त्यतिबेला सम्म तापक्रम उच्च रहने र गर्मीबाट सतर्कता अपनाउनुपर्ने मौसमविद्को सुझाव छ। देशको पूर्वी भागमा फेरि पानी कहिले पर्छ भन्ने अनिश्चितताबीच कोशी प्रदेशमा मनसुन पुनः सक्रिय हुने प्रतीक्षा बढ्दो छ।

























