बिर्तामोड, असार ३: नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५)’ झापाको बिर्तामोडमा आयोजना हुने भएको छ। मेची क्याम्पसका आइटी प्रमुख एवं कार्यक्रम संयोजक सुनिल शर्माले आगामी असार १४ र १५ गते सम्मेलन बिर्तामोडमा हुने जानकारी दिए।
शर्माले भने, ‘नेपालको प्रविधि इतिहासमा एआईसम्बन्धी नयाँ अध्याय सुरु हुँदैछ। हामीले आईसीआरटीएआई २०२५ नामक अन्तर्राष्ट्रिय सम्मेलनमार्फत सरकारको डिजिटल नेपाल अभियान, ई-गभर्नेन्स नीति र इनोभेसन इनक्युबेसनका क्षेत्रहरूलाई एआईमार्फत कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने छलफल गर्नेछौं।’ उनले सम्मेलनले नेपालको स्थानीय आवश्यकतामा आधारित उत्तरदायी र समावेशी एआई विकासको खाका तयार गर्ने महत्वाकांक्षी लक्ष्य राखेको पनि बताए।
नेपालमा एआईका अवसर र चुनौती:
शर्माले नेपाल प्रविधिमा ‘भर्जिन ल्यान्ड’ भएकाले एआईमा थुप्रै अवसर र चुनौतीहरू रहेको उल्लेख गरे। उनले भने, ‘नेपालको बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधता भएको देशमा एआईको प्रयोगले पहुँच अभाव, दक्ष जनशक्ति अभाव, तथा नीतिगत स्पष्टता अभावजस्ता समस्यालाई अवसरमा रूपान्तरण गर्न सक्छ।’
एआई प्रविधिले स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन, शिक्षामा स्वचालित मूल्याङ्कन, र कृषिमा स्मार्ट निगरानी प्रणालीको विकासलाई व्यवहारिक बनाउने उनको दाबी छ। यद्यपि, एआईका केही नकारात्मक पक्षहरू जस्तै यसले ल्याउने नैतिक, सामाजिक र नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक तयारी र समन्वय नहुँदा क्षतिसमेत हुने चुनौतीहरू रहेको उनले बताए। ‘एआईले एकातिर टेलिमेडिसिन, शिक्षामा स्वचालित मूल्याङ्कन, र कृषिमा स्मार्ट निगरानी प्रणालीको विकासमा मद्दत पु¥याउँछ भने अर्कातिर नैतिक, सामाजिक र नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न नसके हानी पु¥याउन सक्ने सम्भावना रहन्छ,’ उनले भने।
उनका अनुसार, सम्मेलनले एआई नीति, अनुसन्धान, नवप्रवर्तन र शिक्षा क्षेत्रलाई एउटै मञ्चमा ल्याउने अथक प्रयास हो।
सम्मेलनको स्वरूप र सहभागीहरू:
सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आइटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन्। आईसीआरटीएआई २०२५ केवल प्रविधि प्रदर्शन गर्ने मञ्च नभई नीति निर्माण, सार्वजनिक संवाद र विद्यार्थी नेतृत्वलाई एउटै प्रवाहमा जोड्नेछ।
सम्मेलनलाई फरक तरिकाले नेपाली संस्कृति अनुसार ‘कन्फरेन्स + अनकन्फरेन्स’ ढाँचामा आयोजना गरिनेछ। ‘अनकन्फरेन्स’ ट्रयाकहरूमा, सहभागीहरूले आफूले चाहेका विषयमा प्रस्ताव गर्न सक्नेछन्, जसमा भाषागत एआई, ग्रामीण स्वास्थ्य सेवामा एआई, महिला र समावेशी डेटा नीतिमा उनीहरू स्वयं मुख्य भूमिका निर्वाह गर्नसक्नेछन्।
कार्यक्रम तालिका:
- पहिलो दिनको सत्र (असार १४ गते): सांस्कृतिक स्वागत तथा उद्घाटन समारोह, मुख्य वक्ताहरूबाट सत्र, विभिन्न क्षेत्रमा पेपर प्रस्तुति, राउन्ड टेबल डिसकसन (दक्षिण एशियामा कृत्रिम बुद्धिमत्ता र जलवायु सहनशीलता), मेन्टर सर्कल्स र टीम फिडब्याक अनि साँझमा नेटवर्किङ डिनर हुनेछ।
- दोस्रो सत्र (असार १५ गते): प्रमुख वक्ताको प्रस्तुति, प्रोजेक्ट शो केस र प्यानेल फिडब्याक तथा प्रोजेक्ट डेमोन्सट्रेशन र अन्तिममा प्यानेल सेशन रहनेछन्।
सम्मेलनमा सहभागी हुन चाहने विद्यार्थी, अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधि, नीति निर्माता, र प्रविधि कम्पनीहरूले आईसीआरटीएआई डटकम मा लगअन गर्न आयोजकले अपिल गरेको छ।

























