१० असार, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२-०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मीना पोख्रेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४ सय ३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरीन् ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको बजेटमा नगरस्तरीय योजना तर्फ ५७ करोड ९७ लाख ५२ हजार ५ सय ४० रुपैयाँ बिनियोजन गरिएको छ भने वडा स्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी संघबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ ८४ करोड ९५ लाख, प्रदेशबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ दुई करोड ६४ लाख ८२ हजार रहेको छ भने ऋणको सावा व्याज भुक्तानीका लागि २५ लाख र समपुरक कोषमा ६ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै अघिल्लो बर्षबाट अल्या गरिएको रकम १३ करोड ७४ लाख ५१ हजार ८ सय ९९ रुपैया ३७ पैसा रहेको छ ।
यता,झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷-०८३को लागि अनुमानित ९५ करोड ९ लाख २१ हजार बराबरको बजेट प्रस्ताव गरेको छ ।
नगरपालिकाले विनियोजन गरेको उक्त बजेट, वार्षिक निती तथा कार्यक्रम मंगलबार आयोजित नगर सभाको १७ औं नियमित अधिवेशनमा नगरपालिकाकी उपप्रमुख एवम् बजेट तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले पेश गरेकी थिइन् ।

बजेटअन्र्तगत पूर्वाधार विकास सम्बन्धी आयोजनाहरुका लागि १४ करोड ११ लाख रुपैयाँ, वडास्तरिय कार्यक्रमका लागि नौ करोड ९० लाख रुपैयाँ, सामाजिक विकास सम्बन्धी कार्यक्रमहरुका लागि तीन करोड ५३ लाख रुपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड ६० लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासन सम्बन्धी कार्यक्रमहरुका लागि एक करोड ५० लाख रुपैयाँ, वित्तीय व्यवस्थापनका लागि २५ लाख र प्रशासनिक खर्चका व्यवस्थापनका लागि १४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको सभामा पेश भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी विनियोजन गरिएको कार्यक्रमको स्रोत व्यवस्थापनको लागि नेपाल सरकारको वित्तीय समानीकरण अनुदान १६ करोड ८७ लाख रुपैयाँ, राजश्व बाँडफाँड बापत १३ करोड ९४ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड ९५ लाख रुपैयाँ, विशेष अनुदान एक करोड एक लाख रुपैयाँ, समपुरक अनुदान तीन करोड १४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
त्यस्तै कोशी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ५९ लाख १४ हजार रुपैयाँ, राजश्व बाँडफाँड बापत एक करोड ५४ लाख ९९ हजार रुपैयाँ, सशर्त अनुदान दुई करोड ४३ लाख २१ हजार रुपैयाँ र समपुरक अनुदान ६० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ । यता नगरपालिकाको आन्तरिक कर तथा राजश्व संकलनबाट आठ करोड रुपैयाँ, स्थानीय राजश्व बाँडफाँडबापत सात करोड ५० लाख रुपैयाँ, जनसहभागिता बापत दुई करोड ५० लाख रुपैयाँ तथा नगद मौज्दात तीन करोड ८७ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
सभामा पेश गरिएको वार्षिक बजेट निती तथा कार्यक्रमहरु तयार गर्ने क्रममा नगरपालिकाले विभिन्न विषयहरुलाई प्राथमिकता दिएको बताइएको छ । जसअनुसार समृद्धिका लागि आर्थिक तथा सामाजिक विकासमा जोड दिने, पूर्वाधार विकासका योजनाहरुलाई प्राथमिकिकरण गरी संघीय तथा प्रदेश सरकारको योजनामा समावेश गराउने, विगतमा निर्माण सुरु भएका र पूरा हुन नसकेका योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर सम्पन्न गराउने, विगतमा बनेका कानूनहरुको समिक्षा गर्ने र आवश्यक संशोधन गनेृ एवम् नगरपालिकाको लागि आवश्यक थप कानूनहरु निर्माण गर्ने रहेका छन् ।
त्यसैगरी अन्य प्राथमिकतामा उद्यमशिलतामैत्री शिक्षाको निती अवलम्वन गर्ने, हात्ती प्रभावित राहत कार्यक्रमलाई निरुत्साहित गर्दै हात्ती प्रभावित बीमा कार्यक्रम प्रबद्र्धन गर्ने, सुपारी प्रबद्र्धन अन्र्तगत अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने तथा सुपारी क्षेत्र विस्तार गर्ने, दूध, मासु, सुपारी र बाँसजन्य व्यवसायलाई स्तरवृद्धी गरी उत्पादन, गुणस्तर तथा रोजगारी वृद्धि गर्ने, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गर्ने रहेका छन् ।
नगरपालिकाका प्रमुख एवम् सभाका सभाध्यक्ष बलदेवसिंह गोम्देन तामाङका अनुसार उक्त अधिवेशनको अर्को बैठक यही असार १६ गते सञ्चालन हुने बताइएको छ ।
यसैगरी, झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि सार्वजनिक गरेको बजेटमा जनकल्याणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको अठारौं गाउँसभामा कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सार्वजनिक गरेको ५१ करोड ४२ लाख ४३ हजार ५ सय ६४ रुपैयाँको बजेटमा नागरिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना समावेश गरिएको छ ।झापा गाउँपालिकाका स्थायी बासिन्दाका लागि ७५ युनिटसम्मको विद्युत महसुल र कृषकका लागि सिचाइ विद्युत महसुलमा ८० प्रतिशत पालिकाले व्यहोर्नेछ। सुत्केरी स्याहार भत्ताका रूपमा ९ हजार रुपैयाँ, मृत्यु संस्कार र समवेदनामा २० हजार रुपैयाँ, विपन्न परिवारका लागि साझेदारीमा स्वास्थ्य बीमा र ८४ वर्षमाथिका ज्येष्ठ नागरिक तथा विदुरलाई ७ हजार ५ सय रुपैयाँ सम्मान रकम प्रदान गरिनेछ। सर्पदंश, कुकुरको टोकाइ र रगत व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च पनि पालिकाले व्यहोर्ने व्यवस्था बजेटमा उल्लेख गरिएको छ । दोस्रो प्राथमिकता पूर्वाधार र कृषि विकासमा दिइएको छ। प्रत्येक वडामा कम्तीमा एक सडक कालोपत्रे गरिनेछ। कृषिका लागि खेतखेतमा विद्युत पु¥याउने, कृषि औजार र मोटर खरिदमा ५० प्रतिशत अनुदान प्रदान गर्ने योजना पालिकाको रहेको छ।
माई बिरिङमा तटबन्धन निर्माण, दमकलको व्यवस्था र इन्डक्शन चुलो खरिदमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम बजेटमा समावेश छन्। कामाटोलीमा निर्माण सम्पन्न अस्पताल सञ्चालन गर्ने र प्राविधिक विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम पनि पालिकाले अघि बढाएको छ ।
यता, बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२
०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभाको सोमबार सुरु भएको बैठकमा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगार्इँले विकासका विभिन्न योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममाा गाउँपालिका उपाध्यक्ष शान्तादेबी शिवाकोटीले सभामा प्रस्तावित आयव्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन् ।
सभामा विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ र विभिन्न विषयगत समितिका प्रतिबेदन पेश गरिएका थिए । कोशी प्रदेश गाउँसभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम गाउँसभाको १७ औं अधिवेशनको संचालन गरिएको थियो । सभाको सहजिकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गरेका थिए ।
उता देशकै सबैभन्दा होचो भूभाग रहेको झापाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६६ करोडबढीको बजेट सार्वजनिक गरेको छ ।
आज आयोजित गाउँसभाको १६ औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले आ.व. ०८२÷०८३ का लागि ६६ करोड १९ लाख ७९ हजार ५३० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा आन्तरिक स्रोततर्फ १० करोड एक लाख पाँच हजार ९७७, राजश्व बाँडफाँडतर्फ संघबाट १० करोड ९४ लाख ५९ हजार ५५३ र कोशी प्रदेशबाट ७३ लाख चार हजार, वित्तीय समानीकरण अनुदानतर्फ संघबाट १२ करोड ७६ लाख र प्रदेशबाट एक करोड १८ लाख ९७ हजार, सशर्त अनुदानतर्फ संघबाट २७ करोड ३४ लाख र प्रदेशबाट ९७ लाख १३ हजार एवम् विशेष तथा समपूरक अनुदानतर्फ संघबाट एक करोड ५० लाख र प्रदेशबाट ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको अध्यक्षतामा सञ्चालित सभामा उपप्रमुख भट्टराईले विनियोजित बजेटबाट चालुतर्फ ४२ करोड २८ लाख ७६ हजार ५०१ र पूँजीगततर्फ २३ करोड ९१ लाख तीन हजार २९ रुपैयाँ खर्च हुने गरी तर्जुमा गरिएको बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलको उपस्थितिमा सञ्चालित सभामा अध्यक्ष राजवंशीले कचनकवल गाउँपालिकाको समृद्धिको योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष भट्टराईले नीति तथा कार्यक्रममा सामञ्जस्यता हुने गरी विभिन्न शीर्षकमा बजेट बाँडफाँड गरिएको जानकारी दिनुभयो ।
पर्यटकीय महत्व बोकेको सबैभन्दा होचो स्थान रहेको कचनकवल स्तम्भको गौरव बोकेको कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बजेटको ६३ प्रतिशत खर्च गरिसकेको छ भने असार मसान्तसम्ममा करिब ८० प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

















