झापा, असार १२: नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको अगुवाइमा बिहीबार झापामा रहेका नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरू (अनारमनी, भद्रपुर, धुलाबारी, दमक, शनिश्चरे, शिवसतासी लगायतका स्थानहरू) मा एकै समयमा ज्ञापनपत्र बुझाइएको छ।
ती सबै वितरण केन्द्रमार्फत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापनपत्र बुझाउँदै झापामा भइरहेको अघोषित लोडसेडिङ, असन्तुलित भोल्टेज, बारम्बार बत्ती जाने समस्या र त्यसबाट सर्वसाधारणले भोगिरहेको अकल्पनीय कष्टप्रति गम्भीर ध्यानाकर्षण गराइएको हो।
कार्यक्रमबारे जानकारी दिँदै एकीकृत समाजवादी झापा जिल्ला अध्यक्ष बिपी भट्टराईले भने, ‘विद्युत् सेवा झापामा अत्यन्तै अनियमित अवस्थामा छ। बिना कुनै कारण झ्यापझ्याप बत्ती जाने, भोल्टेज तलमाथि हुने भइरहेको छ। जसले गर्दा जनता हैरान भएका छन्। हामीले जनताको आवाज उठाउँदै नेपाल विद्युत् प्राधिकरणमा औपचारिक रूपमा हाम्रो माग पुर्याएका छौँ।’
पार्टीले विद्युत् प्राधिकरणलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ र माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ। यस ज्ञापनपत्रले झापामा विद्युत् सेवाको गुणस्तरमा सुधारको मागलाई सशक्त रूपमा उठाएको छ।

















