मेचीनगर । झापाको डोमालाल राजवंशी रंगशालामा आगामी फागुन १ गते देखि हुने ग्रास रुट लेभल छनौटको लागि मेचीनगर नगरपालिकाबाट ३० जना बाल खेलाडीहरु छनौट भएका छन् ।
मेचीनगरभित्र १२ –१३ वर्ष उमेर समुहका ६८ बाल खेलाडीहरुमध्ये चार चरणको छनौटबाट ३० जना जिल्ला छनौटका लागि पठाउन लागिएको हो । छनौट भएका ३० जना बाल खेलाडीहरुले काँकरभिट्टास्थित खेलमैदानमा फूटबल ट्रेनिङ लिइरहेका छन् ।

अखिल नेपाल फुटबल संघ झापाले आधारभूत तह देखि नै फुटबलको जग बलियो बनाउन ट्रेनिङ कार्यक्रमलाई अगाडि बढाइरहेको एन्फा झापाका फूटबल प्रशिक्षक दिपक कार्कीले मेरोमेचीनगर अनलाइनलाई बताउनु भयो । ग्रास रुट लेभल छनौटबाट राष्ट्रीय स्तरमा पुगेका बाल खेलाडीहरुलाई विभागीय टोली र ए डिभिजन क्लबले लिनुपर्ने एफसीको प्रावधान समेत रहेको प्रशिक्षक कार्कीले बताउनु भयो ।

बाल खेलाडीहरु जिल्ला ,प्रदेश हुँदै केन्द्रमा छनौट खेल प्रदर्शन गर्नुपर्ने भएको हुँदा मेचीनगरका बाल खेलाडीहरुको राष्ट्रीय स्तरमा उपस्थिति गराउन ट्रेनिङमा विशेष ध्यान दिएको प्रशिक्षणमा सहयोग गर्दै आउनु भएका सुन्दर बस्नेतले जानकारी दिनु भयो ।
मेचीनगर फुटबल, क्रिकेट लगायतका खेलकुदको उर्वरभूमि भएपनि स्थानीय निकायले खेल मैदानको स्तर उन्नति , राष्ट्रीय स्तरको खेल मैदान निर्माण तथा सार्वजनिक जग्गाहरुमा फूटबल लगायत अन्य खेलकुदको विकासका लागि कुनै पहल गरेको देखिदैन ।

























