२६ असार, मेचीनगर : झापामा सवारी दुर्घटनाबाट हरेक महिना सातजनाको ज्यान जानेको गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट प्राप्त विवरणले पनि यसलाई पुष्टि गर्दछ । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को एघार महिनामा झापामा भएका एकहजार भन्दाबढी सवारी दुर्घटनामा परेर ८४ जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटनाबाट हुने मानवीय तथा धनको क्षति कम गर्ने उद्धेश्यले कार्यालयले जिल्लाका अलग अलग स्थानमा जनचेतनामुलक कार्यक्रम समेत आयोजना गदैं आएको छ । त्यति हुँदाहुदैंपनि चालु आवको साउनदेखि जेठमसान्तसम्म जिल्लामा एकहजार दुईसय ५५ वटा सवारी दुर्घटना हुदाँ एक सय ३७ जना गम्भीर र एक हजार आठ सय ८७ जना सामान्य घाइते भएका कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

तर, पनि निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको झापामा सकरात्मक प्रभाव देखिएको सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको छ । जिल्लामा सडक दुर्घटना र मानवीय क्षति थोरै भएपनि कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

एघार महिनाको अवधिमा कार्यालयले पाँच हजार ६० वटा जनचेतनामुलक कार्यक्रम गरेको छ । जसबाट एकलाख ९४ हजार एकसय ५६ जना प्रत्यक्ष लाभान्वित बनेको प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेलले बताए । पछिल्लो ‘सडक सुरक्षा सप्ताह’ का कार्यक्रम, यस जिल्लाका विभिन्न स्थानमा सडक सुरक्षा सचेतनाका कार्यक्रमलाई बढाउँदै लगेको छ । यातायात व्यवसायी, चालक, यातायात मजदुर, सडकमा हिँड्ने सर्वसाधारण र विद्यालयका विद्यार्थीबिच चरणचरणमा सचेतना कार्यक्रम गरिएका कार्यालयले जनाएको छ । यसकारण पनि सडक सचेतनाका कार्यक्रमको सकारात्मक प्रभाव देखिएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेलको बुझाई छ ।
विद्यार्थीहरुलाई सचेतनामुलक कक्षा दुईसय ३१ पटक प्रदान गरिएको र ७३ हजार चारसय ३७ जनाले प्रत्यक्ष लाभ लिइएको उनले बताए । झापा जिल्लाभरि अनलाइन सिस्टम लागू भईसकेको, बैकिङ्क तथा अनलाइन जरिवाना तिर्ने व्यवस्थालगायतको काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
५४ हजार बढी सवारी साधन कारवाही
चालु आर्थिक वर्ष २०८१÷०८२ को एघार महिनामा झापामा ५४ हजार दुईसय ६६ वटा सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र मातहतका कार्यालयले जिल्लाका अलग अलग स्थानमा छड्के तथा नियमित चेकजाँच गर्ने क्रममा विभिन्न प्रकारका ५४ हजारबढी सवारी साधनलाई कारवाही गरेको थियो ।

सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ्ग गर्ने, हेल्मेट नलगाउने, डिजिटल हरन बजाउने मादक पदार्थ तथा लागूपदार्थ सेवनगरी सवारी चलाउने कारवाहीमा परेका हुन । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरीवाना गरिने कार्यालयले जनाएको छ । त्यस्ता सवारी साधनलाई कारवाही वापत कार्यालयले तीन करोड ८० लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेलले बताए । सवारी नियम उल्लंघन गर्ने सवारी साधनमध्ये सवैभन्दा बढी दुई पाङग्रे सवारी साधन छन् ।
जिल्लामा शहरीक्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा सवारी नियम उल्लंघनका घटना हुने गरेको प्रहरीको भनाई छ । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ । ग्रामीण सडकहरूमा सवारीसाधन दुर्घटनामा कमी ल्याउने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले “सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम समेत सञ्चालन गरेको छ ।
मापसेबाट १७ लाखबढी रुपैयाँ राजस्व
यो अवधिमा कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ४० जनालाई कारवाही गरेको छ । जस्बाट १७ लाख चारसय ९५ रुपैयाँ जम्मा भएको छ । एघार महिनामा ६२ हजार पाँचसय ३७ जना चालकहरुको मापसे चेकजाँच गरिएको थियो । एकसय २२ जना चालकसँग लागू पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्दा ४१ जना कारवाहीमा परेको प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेलले बताए ।
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने घटना र त्यसो गरे के कस्तो कारवाही हुन्छ भन्ने विषयमा ४५ वटा चेतनामुलक कार्यक्रम सञ्चालन गर्दा एकहजार एकसय १९ जना लाभावन्तित भएका थिए ।


























