काठमाडौँ, साउन ५: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा सञ्चालित पुस्तकालयको व्यवस्थापन र सञ्चालनले पार्टीलाई ऊर्जा मिल्ने बताउनुभएको छ। महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेकोमा देउवाले प्रशंसा गर्नुभयो।
नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित पुस्तकालय स्थापना र सहयोगी दाता सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टीहरूको भन्दा नेपाली कांग्रेसको सिद्धान्त राम्रो भएको उल्लेख गर्दै यसलाई आमजनमानसमा बुझाउन पुस्तकालयको महत्त्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। “मैले त तल्लो तलामै राखौँ भनेको हो, माथि राख्नुभयो, तर पनि राम्रो छ, धेरै बहुमूल्य किताब छन्, उसै त कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्ने छ, यहाँबाट साथीहरूले आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श राम्रो छ भन्ने थाहा पाउँछन्, व्यापक बुझाउनु छ, मिडियालगायतका सम्पूर्ण साथीहरूमा बुझाउन सकियो भने सबैभन्दा पुरानो पार्टीले बहुमत ल्याउन सक्छ, सिद्धान्त र आदर्श धेरै महत्त्वपूर्ण र राम्रो छ,” उहाँले भन्नुभयो।
पार्टीका उपसभापति धनराज गुरुङले अध्ययनले ज्ञानको अभिवृद्धि हुने भएकाले अध्ययन बिना द्वन्द्व, झगडा र विनाशको शृङ्खला बढ्ने बताउनुभयो। उहाँले अध्ययनको कमीले गर्दा नेपाली राजनीतिमा ज्ञानको शृङ्खला घट्दै गएको र कांग्रेसले पुस्तकालय निर्माण गरेर यसलाई चिर्ने प्रयास गरेको उल्लेख गर्नुभयो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय पार्टी विभागको काम गर्ने तरिका बदलिएको र पार्टीका विभागहरू सक्रिय भएका छन् भन्नुभयो। उहाँले पार्टीको केन्द्रीय कार्यालय परिसर ज्ञानको मन्थनको केन्द्र हुनुपर्नेमा जोड दिँदै, ज्ञानको उत्पादनलाई परिणामसँग कसरी जोड्ने भनेर ध्यान दिएको बताउनुभयो। “पुस्तकमाथि छलफल गर्ने हामीमाथिको प्रश्न र चुनौतीलाई चिर्न सक्नुपर्नेछ, पुराना कुरा इतिहासको संरक्षण गर्दै नयाँ समाजका नयाँ कुरालाई सिक्न र ग्रहण गर्न तत्पर छौँ,” उहाँले भन्नुभयो।
महामन्त्री थापाले आकर्षक पुस्तकालय निर्माण गर्न रु ६० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउने व्यक्ति सम्पर्कमा नआएका बाबजुद पनि रु एक करोडको कोष जम्मा भएको जानकारी दिनुभयो। उहाँले पार्टीको स्रोत र साहित्य सिर्जनाका कुराहरूमा काम गर्ने समेत विभागको काम रहेको र पार्टीमा योगदान गर्नेहरूको ग्रन्थ समेत प्रकाशन गर्ने सोच रहेको बताउनुभयो।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पुस्तकालयलाई व्यवस्थित बनाउँदै पार्टीको विचार, आस्था र सिद्धान्तलाई परिष्कृत बनाउँदै नेपालको विभिन्न आन्दोलनमा नेपाली कांग्रेसले पुर्याएको योगदान हरेक नेपालीसम्म पुर्याउँदै सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो।
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्वेले नेपाली कांग्रेसले सबैलाई आफ्नो विचारमा सशक्त बनाउन पुस्तकालय तथा स्रोत केन्द्रमार्फत प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो।
पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठले प्रबुद्ध व्यक्तिहरूलाई पार्टी कार्यालयमा बोलाएर बहसको शृङ्खला चलाएर गतिशील बनाइरहेको बताउँदै संस्थागत कोष अभिवृद्धिमा जोड दिनुभयो। उहाँले पार्टी कार्यालयलाई बहसको थलो बनाएर राम्रो र सकारात्मक कुराहरूको प्रवर्द्धन गर्न आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख एवं केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले २०८१ साल साउन २२ गते विभाग गठन भई काम अगाडि बढेको बताउँदै नेपाली कांग्रेस मतदाता र शुभेच्छुकको बलमा सञ्चालन भएको बताउनुभयो।
कार्यक्रममा सभापति देउवाले ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले प्रकाशन गर्नुभएको पुस्तक विमोचन गर्नुभयो। उहाँले पुस्तकालय सञ्चालनमा योगदान पुर्याउने प्रताप पौडेल, युवराज पाण्डे, शङ्कर तिवारी, मनोजमणि आचार्य, रागभ आचार्य, दिलबहादुर महर्जनलगायतलाई सम्मान गर्नुभएको थियो।

















