मेचीनगर, १ फागुन ÷ मेचीनगरमा बाख्रालाई लाग्ने रोगबाट बचाउन खोप दिन सुरु गरिएको छ । बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको हो । सम्भावित महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन पीपीआर खोप दिइएको मेचीनगरको पशु सेवा केन्द्रले जनाएकोछ ।
मेचीनगरका विभिन्न वडाका बाख्रालाई गाउँमै गएर खोप दिइएको छ । पशुपालन बढी गरिने क्षेत्रलाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । पीपीआर रोगका कारण नगरका विभिन्न क्षेत्रमा वर्षेनी सयौ बाख्रा मर्ने गरेका कारण रोग लाग्नु भन्दा अगावै त्यसको शर्तकता अपनाउन पीपीआर खोप दिएको भेक्सिनेटर रञ्जु खड्काले जानकारी दिनुभयो ।
उहाँले महामारीबाट पशुलाई बचाउन किसानलाई समयमै खोप लगाउनको लागि गाउँभरी आह्वान समेत गर्नुभयो । पीपीआर रोग भएका बाख्राले पानी जस्तो दिशा गर्ने, गीजामा फोका आउने, ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, आँखामा चेप्रा पर्ने लगायतका लक्षण देखाउँने पशु प्राविधिकको भनाई छ । यो लक्षण देखिएकोे एक सातामै बाख्राको मृत्यु हुने गरेको छ । त्यसैले महामारी हुन नदिन पीपीआर खोप निःशुल्क रुपमा लगाउँदै आएको खड्काले बताउनुभयो । नेपाल सरकारले निःशुल्करुपमा पीपीआर भ्याक्सिन उपलब्ध गराएपछि नगरपालिकाकातर्फबाट प्राविधिकले गाउँ गाउँमा गएर निःशुल्करुपमा पीपीआर रोगविरुद्ध खोप अभियान सञ्चालन गर्दै आइरहेको बताईएको छ ।
स्वास्थ्यसंस्थाको पहुँच टाढा र खोप लगाउनुपर्छ भन्ने ज्ञानको अभावमा किसानहरूले पालेका बाख्रा मर्ने गरेका कारण नगरपालिकाले गाउँ गाउँमा पुगेर निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरेको हो । आफूले पालेको बाख्रामा खोप दिएपछि रोगबाट बचाउन ढुक्क भएको किसानको भनाई छ ।
प्राविधिकका अनुसार पीपीआर रोगविरुद्ध लड्ने इम्यूनीटी पावर हो । कुनै रोगको औषधि होइन । यसले लगाएको तीन वर्षसम्म काम गर्छ । तीनवर्ष पछि फेरी यो खोप दिनुपर्ने पशु प्राविधिक रामकान्त चौधरीको भनाई छ ।
तीन महिना भन्दा मुनिका बच्चा पाठापाठीलाई दिन हुँदैन । बाहिरी जिल्लाबाट बाख्रा ल्याएर पाल्ने प्रचलनले पनि रोग निम्तिएको पशु प्राविधिकहरूको भनाई छ ।
पिपिआरको लक्षण देखियो भने बाख्रालाई बचाउन नसकिने पशु प्राविधिकको भनाई छ । त्यसैले खोप लगाउनै पर्छ । यदि रोग फैलियो भने चाडै क्षति हुन्छ । पीपीआरको लक्षण देखेपछि त्यसको उपचार नहुने भएका कारण महामारीबाट किसानहरू आफै सर्तक हुनुपर्ने पशु प्राविधिकको भनाई छ ।