काठमाडौँ, भदौ २३: नेपालमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको ‘जेन-जी’ आन्दोलनमा सुरक्षाफौजले गरेको दमन र हिंसाको अन्तर्राष्ट्रिय समुदायले तीव्र निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय (OHCHR), युनिसेफ, एम्नेस्टी इन्टरनेसनल र संयुक्त राष्ट्रसंघको नेपाल कार्यालय लगायतका संस्थाहरूले शान्तिपूर्ण प्रदर्शनमा बालबालिका र युवाहरूमाथि गैरकानूनी रूपमा घातक बल प्रयोग गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय
जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविना शम्दासानीले नेपालमा प्रदर्शनकारीको मृत्यु भएको घटनाबाट आफूहरू स्तब्ध भएको बताएकी छन्। उनले राज्यले गरेको यो हिंसाको छिटो र पारदर्शी छानबिनको माग गरेकी छन्। प्रवक्ता शम्दासानीले सुरक्षा निकायले अनावश्यक र अत्यधिक बल प्रयोग गरेको गम्भीर आरोपहरू प्राप्त भएको बताउँदै सबै सुरक्षाकर्मीलाई बल प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरू पालना गर्न आग्रह गरेकी छन्।
युनिसेफको गहिरो चिन्ता
बालबालिकाको अधिकारका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले सोमबार नेपालभर भएको प्रदर्शनमा बालबालिकाहरूमाथि भएको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। युनिसेफले आफ्नो विज्ञप्तिमा “बालबालिकाहरूमाथि बल प्रयोग स्वीकार्य छैन र यो तत्कालै रोकिनुपर्छ” भनेको छ। नेपाल संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको स्मरण गराउँदै युनिसेफले बालबालिकालाई पनि शान्तिपूर्ण रूपमा भेला हुने र संगठित हुने अधिकार रहेको उल्लेख गरेको छ।
एम्नेस्टी इन्टरनेसनलको कडा निन्दा
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि नेपालमा भएको दमनको कडा शब्दमा निन्दा गरेको छ। एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निरन्जन थपलियाले प्रहरीले धेरै प्रदर्शनकारीहरूको मृत्यु र गम्भीर चोटपटक लाग्ने गरी घातक बलको गैरकानूनी प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। उनले नेपाल सरकारलाई घटनाको तत्काल, गहन, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न र दोषीमाथि फौजदारी अभियोजनसहित जवाफदेही बनाउन आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयको आग्रह
संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्स मार्फत नेपालमा नागरिकहरूको प्रजातान्त्रिक अधिकारको रक्षा गर्न आग्रह गरेकी छन्। उनले “नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने कुरा सुनिश्चित गर्न अधिकतम संयम र सावधानी अपनाउन” सबै पक्षहरूलाई आग्रह गरेकी छन्।

















