निर्वाचनको तयारी पूरा: भोलि १ करोड ८९ लाख मतदाताले ‘भाग्य’ फैसला गर्दै, २४ घण्टाभित्रै नतिजा दिने आयोगको लक्ष्य

A notice in Nepali from Mechinagar Ward No. 10

निर्वाचन आयोगले भोलि फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा भएको जनाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा आज बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई उत्साहपूर्वक र सक्रिय रूपमा मतदानमा सहभागी हुन आह्वान गर्नुभयो।

आयोगका अनुसार भोलि बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रमा मतदान हुनेछ। निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका र अन्य सामग्रीहरू सबै मतदान केन्द्रमा पुगिसकेका छन्। कार्यवाहक आयुक्त भण्डारीले मतदाताले निर्बाध रूपमा आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पाउने गरी भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको स्पष्ट पार्नुभयो। आयोगले मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी गणना सुरु गर्ने र २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

यसपटकको निर्वाचनमा देशभरबाट कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुँदैछन्, जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। आयोगले यसपटक मतदानको प्रतिशत बढ्ने र बदर मतको संख्या घट्ने अपेक्षा गरेको छ।

विशेष गरी झापा निर्वाचन क्षेत्र नम्बर १ मा पनि तयारी अन्तिम चरणमा पुगेको छ। यहाँका १ लाख ३१ हजार ६७ मतदाताका लागि मेचीनगर, भद्रपुर र बुद्धशान्तिका १४५ वटा मतदान केन्द्रहरू तयारी अवस्थामा छन्। यस क्षेत्रका मुख्य उम्मेदवारहरू रामचन्द्र उप्रेती, केशवराज पाण्डे, निशा डाँगी र हेमराज कार्कीले आ–आफ्नै वडाका मतदान केन्द्रबाट भोलि बिहानै मतदान गर्ने तयारी गरेका छन्। जल तथा मौसम विज्ञान विभागले भोलि निर्वाचनको दिन देशभरको मौसम सफा रहने जानकारी दिएकाले पनि मतदाताको उपस्थिति उल्लेख्य रहने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.