प्रधानमन्त्री सुशीला कार्कीले आज सम्पन्न आमनिर्वाचनपछि नवनिर्वाचित सरकारलाई छिट्टै सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ। मतदान प्रक्रिया सकिएलगत्तै बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उहाँले नयाँ सरकारसँग युवाहरूको ठूलो अपेक्षा रहेकाले प्रक्रियालाई ढिलाइ नगर्ने स्पष्ट पार्नुभएको हो।
यस पटकको निर्वाचनमा १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूको हिस्सा कुल मतदाताको करिब ४० प्रतिशत रहेको छ। सोही युवा शक्तिलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “हामी चाँडै सत्ता हस्तान्तरण गर्छौँ किनभने नयाँ सरकारसँग युवाको धेरै अपेक्षाहरू छन्।”
अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालका बाँकी महत्वपूर्ण कार्यहरू, विशेष गरी विभिन्न जाँचबुझ आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। “अब हामी प्रतिवेदन बुझ्छौँ र सार्वजनिक गर्ने प्रयास हुन्छ। यही अवधिमा हामी यी काम गर्नेछौँ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्रीले सो प्रतिवेदन पनि आफ्नो कार्यकालभित्रै सार्वजनिक गर्ने संकेत दिनुभएको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ (Gen Z) आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद आगामी २७ फागुनमा सकिँदैछ।


























