२४ फागुन, मेचीनगर : वागमती प्रदेश, मकवानपुरको हेटौडाबाट पाँचजना आमाबुबालाई उद्धार गरेर सुरु भएको मानव सेवा आश्रम ‐मानवता प्रवद्र्धन महाअभियान) आज देशभरका २१ जिल्लामा विस्तार भईसकेको छ । अभियान अन्तर्गत हाल मानव सेवा आश्रममा करिव दुईहजार बढी देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी सडक आश्रित आमाबुबा गरीमामय जीवन बाँचिरहेका छन् ।
उनीहरुको हेरचाह, स्याहर सुसारका लागि चौबीसैं घण्टा आश्रमका अभियन्ताहरु लागि परेका छन् । मानव सेवा आश्रमले वि.स.२०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुको उद्धार गरी सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य पुरा गर्न देशका विभिन्न ठाउँमा मानव सेवा आश्रम सञ्चालन गरिरहेको छ । यो लक्ष्य पुरा गर्न मानव सेवा आश्रमका अभियन्ताहरु तीब्ररुपमा लागिरहेका छन् । मानव सेवा आश्रमले आफ्नो १३ औं वार्षिकोत्सवमा पार गरेको छ । यस अवधिमा मानवसेवा आश्रमले देशभरबाट १२ हजार जना सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी सडक आश्रितको उद्धार गरेको छ ।
यसै,क्रममा झापाको मेचीनगर नगरपालिका वडा नम्बर— ४ आमडाँगीमा सञ्चालनमा रहेको मानव सेवा आश्रम ‐मानवता प्रवद्र्धन महाअभियान) १९ ओैँ शाखाको रुपमा रहेको छ । यो शाखा सञ्चालन हुनुमा दानवीर एउटा प्रधान परिवारको ठूलो योगदान छ । यसैले मेचीनगरको मानव सेवा आश्रम ‐मानवता प्रवद्र्धन महाअभियान) र त्यो प्रधान परिवार एक अर्काबीचका पर्यावाची झै बनेका छन् । यी दुईबीचको सम्बन्ध निक्कै गहिरो र समधूर पनि छ । आजभन्दा ८३ वर्षअघि दोलखामा जन्मेका रामबहादुर प्रधानको आफ्नै कथा र व्यथा छ । साधारण परिवारमा जन्मेर असाधारण कर्म गरेका प्रधानको समाजसेवाको भावनाबीचको सम्बन्ध निक्कै समधुर छ ।
दिवंगत बाबुआमा चन्द्रबहादुर र विष्णुमाया प्रधानको कोखबाट एउटै छोराका रुपमा अत्यन्तै न्यून परिवारमा जन्मेका थिए रामबहादुर । उनी माथि एकजना दिदी थिईन् । उनी बाल्यवस्थामा हुँदै निष्ठुरी कालले उनका बाब ुचन्द्रबहादुरलाई टप्पकै टिपेर लग्यो । जस्का कारण रामबहादुरले आफ्नो बाबुको अनुहार समेत देख्न पाएनन् । दोलखाको बसाई, खान लगाउन निक्कै समस्या तर पनि आमा विष्णुमायाले दुवै सन्तानलाई बाबुको अभाव खड्किन नदिएर माता पिताकै माया, ममता, प्यार र स्नेह दिदैं जसोतसो आफ्ना दुई सन्तानलाई हुकाईन् ।
रामबहादुर २२ वर्षको भएपछि दोलखाकी १६ वर्षीया लक्ष्मी प्रधानसँग बाल विवाह बन्धनमा बाँधिए । आमा, दिदी र श्रीमतीको पालन पोषण अब उनकै काँधमा आयो । २०३२ सालमा दोलखाको जायजेथो पाँच हजार रुपैयाँमा विक्री गरेर हालको मेचीनगर नगरपालिका वडा नम्बर—४ को आमडाँगीमा कुम्लो विसाउँन श्रीमतीसहित मधेश झरेका थिए उनी । दोलखाबाट ल्याएको पाँचहजार र बनिबुतो गरे कमाएको थप पाँचहजार गरी जम्मा दश हजार रुपैयाँमा स्थानीय खड्गराज भारतीसँग दुई विगाह जग्गा खरीद गरे । त्यही जग्गामा सालको खाबाखुट्टी, काँसको छानो र टाटीबेरासहितको सानो कटेरो बनाएर श्रमितीसहित बसे ।
जसोतसो ज्याला मजदुरी गरेर उनीहरु पालिदैँ त आए । तर, लामो समयसम्म रामबहादुर र लक्ष्मीबाट कुनै पनि सन्तानको जायजन्म नभएपछि दुवै चिन्तित बनेका थिए । पछि उनै लक्ष्मीबाट रामबहादुरको दोस्रो विवाह गर्ने प्रस्ताव आयो । रामबहादुर पनि पछि बुढेसकालमा रेखदेख गर्ने सन्तान त चाहिन्छ भन्ने पक्षमा थिए । उनै लक्ष्मीको सल्लाह बमोजिम उनकै छिमेकीको पहलमा २०३८ सालमा झापा कन्काई नगरपालिका निवासी बुबा नरबहादुर आमा सन्तमाया प्रधानकी २० वर्षीया काईली अविवाहति छोरी पूर्णमाया प्रधानसँग दोस्रो विवाह गरे रामबहादुरले । पूर्णमायाबाट पनि कुनै सन्तान नजन्मेपछि रामबहादुर आफ्नै कारणले सन्तान नजन्मेका रहेछन् भन्ने निष्कर्शमा पुगे । त्यसपछि रामबहादुर आफ्नै भाग्यलाई दोष दिन थाले । अब उनलाई विस्तारै भविष्यको चिन्ताले सताउन थाल्यो । पछि बुढेसकालमा हाम्रो रेखदेख कस्ले गर्छ ? यो सम्पति कस्को हातमा पुग्छ ? यसको संरक्षण कस्ले गर्ला ? भन्ने आदि आदि ।
त्यसवेलासम्म उनले जसोतसो त्यही ठाउँमा बनिबुतो गरेर कमाएको पैसाले जग्गा खरिद गरेर तीन विगाह जग्गा जोडे । तर, सन्तान नभएकोमा उनलाई असाध्य पीर थियो । उमेरमा त ठीकै छ पछि बुढेसकालमा कस्ले हेर्छ उनको मन मनमा खुल्दुली भईरहन्थयो । उनले बृद्धआश्रम ,बाल आश्रमका बारेमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी लिएका थिए । पछि उनको मनमा सोच आयो यस्तै आश्रमसँग जोडिन पाए त पछि दुःख पाईर्दैन कि के हो ? भन्ने । त्यही भएर झापा मेचीनगर —५ काँकरभिट्टाका मोहन कटुवाललाई यस्तै आश्रम सञ्चालकहरुसँग आफुलाई जोडिदिन रामबहादुरले आग्रह गरे । मोहन रामबहादुरलाई काका भनेर सम्बोधन गर्दथे । काँकरभिट्टामा किराना व्यवसाय गरेर बसेका मोहन जग्गाको कारोवार समेत गर्थे । उनै मोहनले मानव सेवा आश्रम ‐मानवता प्रवद्र्धन महाअभियान) का प्रतिनिधि र अभियन्ता र रामबहादुर प्रधानलाई जोड्ने पुलको मा गरे । दुवैपक्षबीच लामो समयसँग छलफल भयो । मानव सेवा आश्रम ‐मानवता प्रवद्र्धन महाअभियान) का प्रतिनिधि र अभियन्ताहरु समेत झापामा कहि कतै दानवीर पाए आश्रम बनाएर पूर्वी झापा, मोरङ् सुनसरी, इलाम, पाचथर, ताप्लेजुङ्ग जिल्लामा भेटिने सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी सडक आश्रितहरुको उचित व्यवस्थापन गर्न खोजीरहेको थियो । उनीहरुलाई ढुङ्गा खोज्दा देवता मिले झै भयो ।
त्यसवेलासम्म रामबहादुरले दुवै श्रीमतीसँग जग्गा दान गर्ने विषयमा छलफल गरीसकेका थिए । विस्तारै मानव सेवा आश्रमका प्रतिनिधि र रामबहादुरबीचको भेटघाट बाक्लिदैं गयो । जतिवेला प्रधान परिवार आफ्नो भएभरको जायजेथो सित्तैमा मानव सेवा आश्रमलाई दिने टुङ्गोमा पुग्यो । उस्ले आश्रमसँग एउटा शर्त अघि सार्यो । प्रधान परिवारको नाममा भएको सवै जायजेथो मानव सेवा आश्रमलाई निःशुल्करुपमा सरकारी प्रक्रिया पुरा गरेर पास गरिदिने, जग्गाधनी प्रमाण पत्र हस्तान्तरण गर्ने तर, आश्रमले बाँचुञ्जेलसम्म दुवै श्रीमतीको रेखदेख, हेरचाहको जिम्मा लिनुपर्ने । खान, लगाउन, दुःख सुख, विरामी पर्दा उपचारलगायतका सवै जिम्मेवारी मान सेवा आश्रमले लिनुपर्ने शर्त अघि सारेरपछि आश्रम दुवै श्रीमतीमात्र नभएर रामबहादुरको पनि जिम्मा लिने भन्दैं
रामबहादुरको शर्त सहजैरुपमा उनको शर्त स्वीकार गरेर सवै जिम्मा ग्रहण गर्यो । तब, रामबहाुरले भने, ‘मेरो जिम्मा लिनु पर्दैन, म त अझ सक्ने सेवा र सहयोग गर्छु , बरु श्रीमतीहरुलाई कुनै कुरामा कमि आउन दिनुभएन । ’ नभन्दैं अहिले आश्रमले उनीहरको गासबास र कपासको जिम्मा लिएको छ । दुवैपक्ष मञ्जुर भएपछि प्रधान परिवारले आफ्नो नाममा एकधुरसम्म जग्गा नराखी भएभरको सवै जग्गाको स्वमित्व मान सेवा आश्रमलाई हस्तान्तरण गरेको रामबहादुरले सुनाए । त्यसवेला त्यो सवै जग्गा दुवै श्रीमतीका नाममा बराबर बाँडीदिएका थिए रामबहादुरले । पछि दुवै श्रीमतीले जिल्ला मालपोत कार्यालय झापा पुगेर जग्गा पास गरिदिएका थिए । त्यसदिनको जति खुशी रामबहादुर परिवारले कहिले पनि भेटेको थिएन् ।
‘भएको सवै सम्पति मानव सेवा आश्रमलाई पास गरीदियौं ’उनले भने ‘त्यसपछिदेखि हामी आश्रमका सदस्य भयौं, हाम्रो पालनपोषणको जिम्मा पनि आश्रमले लियो ।’ लाखौँका मालिक प्रधान परिवार अब पूर्णरुपमा सुकुम्बासी भयो । धेरै वर्षसम्म त्यो परिवार पुरानै घरमा बस्यो । आफ्नो मृत्युपछि मानव सेवाको हितमा काम गर्न भनेअनुसार प्रधान परिवारका सदस्यहरुले मानव सेवा आश्रमलाई प्रदान गरे मानव सेवा प्रवद्र्धन कार्य गरेकोमा दाता परिवारले पुण्यको काम गरेको छ । प्राप्त भएको जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न स्थानीय सरकारले सक्ने सहयोग गर्ने गरेको छ ।
मानव सेवा आश्रमका मानवीय कार्यका लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गरेका कारण अहिले प्रधान परिवार सवैतिर हाईहाई छ । प्रधान परिवार समेत दुःख र पीडामा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँछ आश्रम त्यहाँ संरचना निर्माण गर्ने निधोमा पुग्यो । सहयोगापेक्षी सडक आश्रित मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले मेचीनगर नगरपालिका–४ आमडाँगीमा मानव सेवा आश्रमले एक करोड रुपैयाँको लगानीमा भवन निर्माण गरेको अनौपचारिकरुपमा सञ्चालनमा ल्यायो । प्रधान परिवारले निःशुल्क प्रदान गरेको सवा दुई विगाह जमिनमध्ये दश कठ्ठा जमिनमा आश्रम भवन निर्माण गरिएको छ । मानव आश्रम अनौपचारिकरुपमा सञ्चालनमा आएपछि पछिल्लो समय सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी सडक आश्रित आमाबुबा वा सहयोगापेक्षी सडक आश्रित मानवका लागि ‘महल’ बन्दैं छ आश्रम ।
तत्काल आश्रम निर्माणका लागि मेचीनगर नगरपालिकाले २५ लाख रुपैया बजेट विनियोजन गरेको थियो । पछिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गर्यो । अहिले झापा जिल्लाका अधिकाँश पालिकाहरुले आश्रम सञ्चालनमा सहयोग गरेका छन् । अहिले त्यस मानव सेवा आश्रममा पुर्वी नेपालका विभिन्न जिल्लाका १६ देखि ९९ वर्षसम्मका मानिसहरु आश्रित रहेको मानव सेवा आश्रम झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । उनीहरु थुप्रै आफ्ना परिवारका बारेमा अनविज्ञ छन् ।
प्रधान परिवारलाई भने आश्रमले नजीकै टिनको छानो, वारिपारी इटाको गारोलगाएको रंगरोगन लगाएर चिट्टिकै सजिएको शौचालय, खानेपानी विद्युतसहित जडान भएको एकतले पक्की छर निर्माण गरिदिएको छ । ८१ वर्षीय रामबहादुर, ७७ वर्षीया लक्ष्मी र ६० वर्षीया पूर्णमाया आज त्यही घरमा बसेर बाँकी जीवन विताईरहेका छन् । खानाका लागि अन्नपात, लगाउनका लागि लुगाफाटो, विरामी हुँदाको स्वस्थ्यपोचार, चाडपर्वमा मीठो मसिनोको सवै जिम्मा जोहो समेत मानव सेवा आश्रमले गर्ने गरेको लक्ष्मीले बताईन् । ‘हामीलाई राम्रो छ, भएभरको सम्पति मानव सेवा आश्रमलाई सित्तैमा दिँदा कुनै दुःख छैन् ’ लक्ष्मी भन्छिन् ‘हामीलाई राम्रो रेखदेख गर्नुहुन्छ, उस्वेला सन्तान नपाएर के भयो र अहिले पुरै सन्तानका माझ छौ । ’


























