रोशी खोलाको बाढीले बीपी राजमार्ग अवरुद्ध, अस्थायी सडक बगाउँदा यातायात ठप्प

A notice in Nepali from Mechinagar Ward No. 10

१५ चैत्र, काभ्रे : शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गतको अस्थायी सडक (डाइभर्सन) बगाउँदा रोशी क्षेत्रको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। चौकीडाँडादेखि नेपालथोकसम्म करिब चार किलोमिटर क्षेत्रमा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग शुक्रबार साँझदेखि नै ठप्प बनेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार रातिदेखि राजमार्ग नखुलेसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। रोशी खोलामा पानीको बहाव घटेपछि अस्थायी रूपमा सडक सञ्चालन गर्ने तयारी भए पनि निरन्तर वर्षाका कारण काम अघि बढ्न नसकेको प्रहरीले जनाएको छ।

सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको संयुक्त प्रयासमा शनिबार अस्थायी सडक मर्मत गरी सञ्चालनमा ल्याउने योजना बनाइएको थियो। तर पटक–पटकको वर्षाले काम प्रभावित हुँदा प्रयास सफल हुन सकेन। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार पानीको बहाव घटे आइतबार बिहानदेखि पुनः डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्ने तयारी गरिनेछ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार गत वर्षको बाढीपहिरोपछि बनाइएको १८ किलोमिटर डाइभर्सनमध्ये विभिन्न स्थानको करिब चार किलोमिटर सडक बगाएको छ। शनिबार बिहानदेखि पुनर्निर्माण सुरु गरिए पनि लगातारको वर्षाले काममा कठिनाइ उत्पन्न भएको उनले बताए। स्थायी रूपमा निर्माणाधीन सडकखण्डमा भने हालसम्म कुनै क्षति नपुगेको जनाइएको छ।

गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक बनाएर यातायात सञ्चालन हुँदै आएको थियो। यसपटकको बाढीले बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मंगलटार क्षेत्रमा सडकका विभिन्न भाग बगाउनुका साथै केही स्थानमा लेदोसहितको पहिरो पनि गएको छ।

बाढीका कारण एक जनाको मृत्यु भएको छ। रोशी गाउँपालिका–७ का करिब ४० वर्षीय कुन्साङ तामाङको शुक्रबार राति बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी राजमार्ग निर्माण कार्यसँग सम्बन्धित श्रमिक रहेको बताइएको छ।

यस्तै, चौकीडाँडानजिकै बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। बाढीले एक मोटरसाइकल र एक विद्युतीय सवारी साधन पनि बगाएको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि नै सवारी साधनहरूलाई विभिन्न स्थानमा रोक लगाएको छ। धुलिखेलको काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मंगलटार क्षेत्रमा सवारी ‘होल्ड’ गरिएको छ।

हाल रोशी खोलाको बहाव घट्ने प्रतीक्षामा सरोकारवाला निकायहरू पुनः सडक सञ्चालनमा ल्याउने प्रयासमा जुटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.