मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका विपन्न परिवारलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउन ‘विपन्न लक्षित धारा जडान’ कार्यक्रम अघि सारेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै मापदण्ड पुगेका विपन्न नागरिकहरूलाई धारा जडानका लागि १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
यस कार्यक्रम अन्तर्गत धारा जडान गर्दा लाग्ने शुल्कमा नगरपालिका र सम्बन्धित खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको संयुक्त लागत सहभागिता रहनेछ। यद्यपि, धारा जडानका लागि आवश्यक सामग्रीहरू (जस्तै धारा, पाइप आदि) भने लाभग्राही स्वयंले खरिद गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
को-को हुन् त योग्य? नगरपालिकाले विपन्नताको स्पष्ट मापदण्ड तोकेको छ। जसअनुसार:
६ महिनाभन्दा बढी खान नपुग्ने र नियमित आम्दानी नभएका परिवार।
दैनिक ज्यालादारी वा असंगठित क्षेत्रमा काम गर्ने मजदुर।
भूमिहीन दलित वा सुकुम्बासीको निस्सा पाएका घरपरिवार।
कच्ची प्रकृतिको घर भएका र परिवारको कोही पनि सदस्य सरकारी वा सार्वजनिक संस्थानको सेवामा नरहेका व्यक्तिहरू।
इच्छुक परिवारले आवश्यक कागजातसहित आगामी वैशाख ६ गतेभित्र आफ्नो सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। यो कदमले नगरका अति विपन्न समुदायको स्वास्थ्य र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
मेचीनगर नगरपालिकाबाट प्रकासित सूचना :



























