२८ बैशाख, मेचीनगरः आगामी जेठ ९ गते (शनिबार) नयाँ नेतृत्व चयनका लागि हुन गईरहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचनमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती सञ्चालक सदस्यमा सर्वसम्म्त चयन भएका छन् । उप्रेतीलाई भावी अध्यक्षकारुपमा अघि सारिएको छ ।
मंगलबार झापाको मेचीनगर—१० धुलावारीमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा कार्यालयमा पुगेर राष्ट्रिय सहकारी बैंक लिमिटेडको लेखा सुपरिवेक्षण समितिको वर्तमान संयोजक समेत रहेका उप्रेतीले उम्मेद्वारी मनोनयन गरेको उनको समर्थक समेत रहेका जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले जानकारी दिए ।
उप्रेतीको उम्मेद्वारीको प्रस्तावकका रुपमा मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य हरिदाश ढुङ्गाना रहेका छन् । कोशी प्रदेशका १४ वटा जिल्लाबाट एक पदमा उप्रेतीको मात्र उम्मेद्वारी परेकाले उनी सर्वसम्मत चयन भएका हुन् । उप्रेती देशकै नमुनाको रुपमा झापामा रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि का प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

कोशी प्रदेशबाट उप्रेतीको एकल उम्मेद्वारी परेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा कार्यालय मेचीनगरले जनाएको छ । यस पटक गण्डकी र मधेश प्रदेशबाट महिला सञ्चालक पद आरक्षित गरिएको बैंकले जनाएको छ । सापकोटाका अनुसार सञ्चालक सदस्यमा उम्मेद्वारी दर्ता गरेका उप्रेतीलाई भावी अध्यक्षकारुपमा अघि सारिएको हो । यस्तै, निर्वाचनमार्फत नै तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरिने भएपनि तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन भएको लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार संयोजकमा तारा गुरुङ्ग तथा सदस्यहरुमा ममता शाह र युवराज पोख्रेल निर्विरोध भएका हुन् । यसै गरी सातवटा प्रदेशहरुमध्ये कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमला गिरी, कर्णली प्रदेशबाट कालीबहादुर महतरा, लुम्बिनीबाट विष्णुप्रसाद वराल समेत सर्वसम्मत चयन भएका छन् । बागमती प्रदेशबाट एक पदका लागि पाँच र सुदूरपश्चिम प्रदेशबाट एक पदमा दुइजनाको उम्मेद्वारी परेका कारण परिणामका लागि निर्वाचनबाट छिनोफानो हुने भएको छ ।
यस निर्वाचनमा बैंकको २२औं वार्षिक साधारण सभामा सहभागी प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने बेैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले २०८२ पुस ६ गते जारी गरेको निर्देशन र सहकारी ऐन २०७४ बमोजिम बैंकको सञ्चालक समितिको संरचनामा पुनःसंरचना गरिएको हो । यसअघि पुस १२ गतेका लागि तय गरिएको निर्वाचन नियामक निकायको पूर्ण स्वीकृति नपाउँदा स्थगित भएको थियो । बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समिति तथा नेपाल राष्ट्र बैंकको निर्देशन र सहकारी विभागबाट प्राप्त सैद्धान्तिक स्वीकृतिका आधारमा निर्वाचनको मिति घोषणा गरेको थियो ।
यससँगै लामो समयदेखि रोकिएको बैंकको नेतृत्व चयन प्रक्रिया अब औपचारिक रूपमा अघि बढ्ेको छ । बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार नियामक निकायबाट आवश्यक सहमति प्राप्त भइसकेकाले तोकिएको मितिमा निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्न बैंक प्रतिबद्ध रहेको बताए । २०८१ मंसिरमा नेपाल राष्ट्र बैंकले तत्कालीन अध्यक्ष केबी उप्रेतीसहित पाँच जना सञ्चालकलाई पदमुक्त गर्न निर्देशन दिएपछि बैंकको नेतृत्व गिरीले सम्हालेका थिए ।

२०६० सालमा स्थापना भएको बैंकको १६ हजार चार सय भन्दा बढी सहकारी संघ संस्था सदस्य रहेका छन् । नेपाल बैंकबाट ॅघ’ वर्गको वित्तिय संस्था सरहको मान्यता पाएको, देशभरिका ५७ वटा शाखा मार्फत कारोवार गरिरहेको बैंकको शेयर पूजीँ दुई अर्ब,९० करोड रुपैयाँ रहेको छ । ४२ अर्ब बचत परिचालन तथा १६ अर्ब कर्जा लगानी भएको छ । बैंकमा तीन सय बढी कर्मचारीले रोजगार प्राप्त गरेका छन् ।


























