९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेस प्रचण्डपथ अंगिकार गरेको कुदेको आरोप लगाउनु भएको छ ।
आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ अंगिकार गरेर सत्ता कब्जाको बाटोमा लागेको आरोप लगाउनु भएको हो ।
‘आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदे जस्तो लाग्छ । कब्जाको बाटोमा । सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधैं वितण्डा खडा गर्ने, कुप्रचार, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिजाउन खोज्ने प्रयास हुँदै आए र गत वर्षदेखि यो अत्यन्तै तीव्र भए । मलाई ताज्जुब लाग्छ ।,’ओलीले भन्नु भयो ।
कांग्रेस सचेतक पुष्पा भुसालले ओलीको नेतृत्वमा हुने चुनावमा भाग नलिने बताएको प्रसंग जोड्दै ओलीले कांग्रेसको बोली सुनेर आफूलाई आश्चर्य लागेको बताउँनु भयो ।
‘उहाँले केपी ओलीले गराएको चुनावमा भाग लिँदैन भन्नु भयो । कसले गरेको चुनावमा भाग लिने त ? केपी ओलीले गरेको चुनावमा भाग नलिने हो भने कसले गरेको चुनावमा भाग लिने ? भाग लिन नेपाली कांग्रेसले प्रधानमन्त्री टिको लगाइदिने कि ?,’ ओलीले भन्नु भयो, ‘अहिलेको प्रधानमन्त्री देशमा धेरै पपुलर भोट भएको, दुई पार्टी मिल्दा पनि प्रतिनिधिसभामा एक्लो ठूलो पार्टीको नेतृत्वको चुनावमा नजाने । कुन डेमोक्रेसीको परिभाषा भित्र पर्छ यो ? नेपाली कांग्रेको बोली सुनेर मलाई आश्चर्य लागेको छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गुरु थापेर प्रचण्डपथमा कांग्रेस हिँडेको देखेर आफूलाई आश्चर्य लागेको ओलीले आरोप लगाउनु भएको छ ।
‘कांग्रेस अहिले उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा…। आफूले चुनाव गराउनु पर्ने । आफैले गरेको चुनावमा उहाँहरु २३ सिटमा झरेको हैन ? अनि आफ्नै नेतृत्वमा चुनाव हुनुपर्छ भन्ने के भनेको त्यो ? म सबैलाई आग्रह गर्छु, आवेश उत्तेजनाको राजनीति नगरौं,’ ओलीले भन्नु भयो । चुनावमा गएर नयाँ जनादेशबाट जनताबाट अनुमोदित भएर आउन वहाँहरु डराइराखेको ओली आरोप लगाउनु भएको छ ।























